
काठमाण्डौं । तिहारको एक सातामा वाणिज्य बैंकहरुबाट १७ अर्ब १३ करोड रुपैयाँ निक्षेप बाहिरिएको छ । यसअवधिमा बैंकहरुले ५६ करोड मात्र कर्जा लगानी गरेका छन । नेपाल बैंकर्स संघका अनुसार कात्तिक ४ गतेदेखि ११ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुबाट १७ अर्ब १३ करोड निक्षेप झिकिएको हो । यसअवधिमा तिहार परेकाले तिहार खर्चका लागि निक्षेपकर्ताहरुले निक्षेप झिकेका हुन ।
बैंकहरुमा निक्षेप घट्दा बैंकहरुको कर्जा विस्तार सुस्ताएको छ । कात्तिक ७ गतेदेखि १३ गतेसम्म तिहारकोका लागि सार्वजनिक विदा परेकाले पनि कर्जा विस्तार रोकिएको हो । यसअवधिमा ५६ करोड रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ । सो अवधिसम्म बैंकहरुको कर्जा निक्षेप अनुपात ८७.५८ प्रतिशत रहेको छ ।
कात्तिक लागे यता मात्र वाणिज्य बैंकहरुबाट २३ अर्ब ३७ करोड रुपैयाँ निक्षेप घटेको छ । यसअवधिमा ५ अर्ब १० करोड कर्जा परिचालन गरेका छन । संघका अनुसार कात्तिक ११ गते शुक्रबारसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब २४ अर्ब निक्षेप रहेको छ भने यसअवधिसम्म ४२ खर्ब २५ अर्ब कर्जा लगानी गरेका छन ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले समग्र वित्तीय प्रणालीमा ५१ खर्ब ५२ अर्ब निक्षेप रहेको छ भने ४७ खर्ब ५७ अर्ब कर्जा परिचालन गरेका छन ।