
बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक इतिहासकै डरलाग्दो आर्थिक संकटमा पुगेको तथ्य सुनाउनु भएको छ । सत्तारुढ गठबन्धनको कारण मुलुक यस्तो डरलाग्दो अवस्थामा पुगेको पौडेलको भनाई छ । नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिलेको सरकारको पालामा देखिएको पौडेलले बताउनु भयो ।
पौडेलले वर्तमान सरकारको अक्षमता र अकर्मण्यताका कारण मुलुक यो अवस्थामा पुगेको भन्दै सरकारबाटै निजी क्षेत्रको घाँटी निमोठ्ने काम भएको बताउनु भयो ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको भेलामा बोल्दै पौडेलले सरकारको गलत आर्थिक नीतिका कारण नीजि क्षेत्र पलायन हुने तथा श्रमिकहरु रोजगारीबाट पलायन हुने अवस्थामा आइपुगेको बताउनु भयो ।
पौडेलले आफू अर्थमन्त्री हुँदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर अहिले ८ दशमलव १ प्रतिशमा पुगेको र संकटग्रस्त अवस्थामा रहेको आर्थिक क्षेत्रको सुधारका समेत कार्यक्रम समावेश गरेर एमालेले प्रतिवद्धता पत्र जारी गर्ने बताउनु भयो ।
सरकारले बैंकको ब्याजदरमा उच्चवृद्धि गरेपछि आन्दोलनरत उद्योगी व्यवसायीहरुको मागप्रति ऐक्यवद्धता जनाउँदै पौडेलले उनीहरुको माग पूरा गराउनका लागि आफ्नो साथ रहेको बताउनु भयो ।
कोरोना महामारीले धरासायी भएका निजी क्षेत्र तथा उद्योगी व्यवसायीलाई सरकारबाटै ढाडमा हान्ने काम भएको भन्दै पौडेलले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्नु तथा ब्याजदर वृद्धिको आलोचना गर्नुभयो ।
कार्यक्रममा ब्यवसायीहरुले अस्वभाविक रुपमा करको दर हेरफेर, बैंक ऋणको ब्याजदरमा उच्च वृद्धि लगायत कारणले नीजि क्षेत्रलाई सरकारबाटै आतंकित बनाउने काम भएको भन्दै राज्यले विशेष कदम चाल्नुपर्नेमा उल्टो सेटिङमा केन्द्रित रहेको गुनासो गरेका थिए ।