२०८३ बैशाख १७ बिहीबार

काठमाडौंं । गत आर्थिक वर्ष २०७८/०७९ मा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई १९ खर्ब २० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३.५ प्रतिशत, १३.२ प्रतिशत र ३६.३ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, स्पन्ज आइरन, सुनलगायत वस्तुको आयात बढेको छ भने एमएस बिलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरणलगायत वस्तुको आयात घटेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापारघाटा २३.० प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा २७.३ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार कुल वस्तु निर्यात भने ४१.७ प्रतिशतले वृद्धि भई दुई खर्ब तीन करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५.९ प्रतिशत र ३०.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २०.४ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, ऊनी गलैंचा, धागो, जिंक सिट, जुसलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, अलैंची, चिया, औषधि (आयुर्वेदिक), तारलगायत वस्तुको निर्यात घटेको छ ।

शोधनान्तर घाटा दुई खर्ब ५५ अर्ब
आव २०७८/०७९ मा चालु खाता छ खर्ब २३ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता तीन खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष दुई अर्ब ८४ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा पाँच अर्ब १७ करोडले घाटामा रहेको छ । समीक्षा वर्षमा शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्ष एक अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोेधनान्तर समीक्षा वर्षमा दुई अर्ब १४ करोडले घाटामा रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असारमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असारमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असारमा १८.९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असारमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ असारमा १५.१ प्रतिशतले कमी आई १० खर्ब ५६ अर्ब ३९ करोड कायम भएको छ ।

एक वर्षमा १० खर्ब रेमिट्यान्स भित्रियो
आव २०७८/०७९ मा रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई १० खर्ब सात अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष रेमिट्यान्स ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स २.२ प्रतिशतले वृद्धि भई आठ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।

त्यस्तै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्यरूपमा वृद्धि भई तीन लाख ५४ हजार छ सय ६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई दुई लाख ८२ हजार चार सय ५३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो ।

मूल्यवृद्धि ८.०८ प्रतिशत
२०७९ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । २०७८ असारमा मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । विश्वव्यापीरूपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारण आव २०७८/०७९ का पछिल्ला महिनामा मुद्रास्फीतिमा चाप परेको बताइएको छ ।

अघिल्लो आवको तुलनामा आव २०७८/०७९ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल, दाल तथा गेडागुडी, सूर्तिजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको छ ।

गैर-खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा, फर्निसिङ तथा घरायसी उपकरणहरू र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः १५.८२ प्रतिशत, ८.७८ प्रतिशत, ७.०९ प्रतिशत र ६.६८ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर