२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा चार खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले कुल कर्जा लगानीमध्ये २०७९ असार मसान्तसम्म न्यूनतम १२ प्रतिशत, २०८० असार मसान्तसम्म १३ प्रतिशत, २०८१ असार मसान्तसम्म १४ प्रतिशत र २०८२ असारसम्म १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।

‘सोअनुसार २०७८ चैत मसान्तमा वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा औसतमा १२ दशमलव २८ प्रतिशत अर्थात् चार खर्ब ९० अर्ब १५ करोड कर्जा प्रवाह गरेका हुन्’, राष्ट्र बैंकले भनेको छ ।

ऊर्जा क्षेत्रमा भने वाणिज्य बैंकहरुले कुल दुई खर्ब २० अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जा लगानीमध्ये २०७९ असार मसान्तसम्म न्यूनतम छ प्रतिशत, २०८० असार मसान्तसम्म सात प्रतिशत, २०८१ असार मसान्तसम्म आठ प्रतिशत र २०८२ असार मसान्तसम्म १० प्रतिशत कर्जा ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।

सोअनुसार २०७८ चैत मसान्तसम्ममा ऊर्जा क्षेत्रमा औसतमा पाँच दशमलव ५१ प्रतिशत अर्थात दुई खर्ब २० अर्ब आठ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुुसार लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा भने वाणिज्य बैंकहरुले झण्डै चार खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जा लगानीको २०७९ असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत, २०८० असार मसान्तसम्म १२ प्रतिशत, २०८१ असार मसान्तसम्म १३ प्रतिशत र २०८२ असार मसान्तसम्म १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा, एक करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत, प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ ।

सो अनुसार २०७८ चैत मसान्तमा उक्त क्षेत्रमा औसतमा नौ दशमलव ८५ प्रतिशत अर्थात तीन खर्ब ९३ अर्ब २८ करोड कर्जा प्रवाह भएको छ ।

यसैगरी विकास बैंकहरुले २०७९ असार मसान्तसम्म कुल कर्जा लगानीको १७ प्रतिशत, २०८० असार मसान्तसम्म १९ प्रतिशत र २०८१ असार मसान्तसम्ममा २० प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकको भनाई छ ।

सो अनुसार २०७८ चैतमा विकास बैंकहरुले यो क्षेत्रहरुमा औसतमा २६ दशमलव ६२ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ९२ करोड कर्जा प्रवाह गरेको राष्ट्र बैंकको भनाइ छ । फाइनान्स कम्पनीहरुले भने २०७९ असार मसान्तसम्म कुल कर्जा लगानीको १२ प्रतिशत, २०८० असार मसान्तसम्म १४ प्रतिशत र २०८१ असार मसान्तसम्ममा १५ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।

सो अनुसार २०७८ चैत मसान्तमा भने यी क्षेत्रहरुमा औसतमा २१ दशमलव ९२ प्रतिशत अर्थात् १६ अर्ब १५ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुुसार अहिले वाणिज्य बैंकहरुको कुल संख्या २६, विकास बैंकहरुको कुल संख्या क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ र फाइनान्स कम्पनीहरुको संख्या १७ वटा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर