२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा खाद्य उद्योग र विभिन्न फर्म तथा व्यवसाय गरी खाद्यसम्बन्धी एक सय १५ मुद्दा दायर भएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्षमा रेस्टुरेन्ट, खाद्य पदार्थ, डेरी तथा कुखुराको दाना उद्योग गरी एक सय १५ मुद्दा दायर गरेको हो ।

दायर मुद्दामध्ये खाद्यान्न एवं दलहनजन्य पदार्थका ३०, दूध तथा दुग्धजन्य पदार्थका १९, दानाका १८, प्रशोधित पिउने पानीका १४, चिया तथा कफीका आठ, फलफूल तथा सागपातका सात, मसला पदार्थका पाँच, गुलियो पदार्थका तीन, तेल तथा घिउजन्य दुई, सोयासस एक र अन्य आठ रहेको विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

सो आवमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमअनुसार चार हजार छ सय ६० नमुना संकलन गरिएको जनाएको छ । संकलित नमुनामध्ये दुई सय २४ अर्थात् ५.४२ प्रतिशत प्रतिकूल पाइए पनि खाद्य ऐन तथा नियमविपरीत एवं न्यूनस्तर तथा दूषित खाद्य उत्पादन तथा बिक्रीको कसुरमा एक सय १५ वटा मुद्दा विभिन्न जिल्ला अदालतमा दायर गरिएको विभागको भनाइ छ ।

विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले जनताको स्वास्थ्यमा असर गर्न नदिन विभागले निरन्तर अनुगमन गर्दै आएको बताउनुभयो । नेपाल भित्रिने फलफूल तथा सागसब्जीमा हाल प्रयोगशालामा नियमित परीक्षणका साथै फलफूल पकाउन प्रतिबन्धित कार्वाइडको प्रयोग सम्बन्धमा विभाग तथा मातहतका कार्यालयबाट गोदाम तथा पसलमा नियमित अनुगमन भइरहेको उहाँको भनाइ छ ।

खाद्य पदार्थको विश्लेषण परीक्षणका लागि विश्वसनीय प्रयोगशाला सेवा प्रदान गर्ने र स्वच्छ व्यापार तथा व्यवसायमा सहजीकरण गर्ने कार्य विभाग तथा मातहतका ४३ कार्यालयबाट हुँदै आएको विभागले जनाएको छ ।

विभागका अनुसार गत आवमा खाद्यसम्बन्धी उत्पादन दर्ता र नवीकरणसमेत एक हजार छ सय ९० वटा आहारपूरक खाद्य पदार्थ नियमन गरिएको, सात सय तीन उद्योगलाई नयाँ अनुज्ञापत्र प्रदान गरिएको, एक हजार चार सय ८१ उद्योगको अनुज्ञापत्र नवीकरण तथा एक हजार छ सय १३ नयाँ उद्योग स्थापनाका लागि सिफारिस गरिएको विभागले जनाएको छ ।

सो आवमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको सहकार्यमा तारा फुड्स र स्पर्स बेकरी उद्योगमा छापा मार्दा खाद्य अनुज्ञापत्र नलिई सञ्चालनमा रहेको पाइएकोमा थप अनुसन्धानका क्रममा मह उत्पादकको बेकरीसमेत रहेको खुल्न आएको र ठूलो परिमाणमा अर्थात् करिब एक सय २० बोरा म्याद नाघेको, सडेगलेको पाउरोटी सुकाएर पुनः प्रयोग गरेको पाइएकाले नष्ट गरी सञ्चालकलाई कारबाही गरिएको विभागले जनाएको छ ।

साथै बजारमा बिक्री हुने महको गुणस्तरसम्बन्धी गुनासो उजुरी सम्बोधनका क्रममा महलक्षित देशव्यापी विशेष अनुगमनका क्रममा ८९ पटक उद्योग तथा बजार निरीक्षण अनुगमन गरी एक सय २० नमुना संकलन गरिएकोमा ३७ वटा नमुना प्रतिकूल पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर