काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिन नसकिने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले क्रस बोर्डर विद्युत् व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशाला कार्यक्रममा घिसिङले प्राधिकरणले ट्रान्समिसन प्रसारण लाइनको जोखिम र शुल्क तिर्ने र २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने स्पष्ट पारे ।
उनले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रसारण शुल्क बढाउँदै जान नहुने बताए । पछिल्लो समय ट्रान्समिसन प्रसारणमा शुल्क उच्च हुँदै गएको उनको भनाइ छ । निर्देशन घिसिङले प्रसारण लाइनको लागत कम गर्नुपर्ने बताए ।
उनले विद्युत्को मूल्य भारतमा राम्रो पाएकाले यो वर्ष विद्युत् प्राधिकरणले करिब १६ अर्ब रुपैयाँ विद्युत् निर्यातबाट कमाउने बताए । गत वर्ष प्राधिकरणले पाँच अर्बको विद्युत् निर्यात गरेको थियो ।
“विद्युत् व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ । प्राधिकरणले केही कमाइरहेको छ । विगतमा एक वर्षमा ५ अर्बको निर्यात गरेका छौँ । यो वर्ष प्राधिकरणले करिब १६ अर्ब भन्दा बढीको विद्युत् निर्यात गर्छ । विद्युतका लागि जुन जोखिम लिएका थियौँ । अब २० वर्षपछि यसलाई परिवर्तन गरेर निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने कुरा हुँदैन,” उनले भने ।















