२०८१ मंसिर २२ शनिबार

काठमाण्डौं । नेपालले गत आर्थिक वर्षमा १ सय ७० देशसँग व्यापार गरेको छ। गत आर्थिक वर्ष वैदेशीक व्यापार गरेका १४० देशसँग नेपालले घाटा व्योहोर्दा ३० देशसँगको व्यापार बाट मात्र नाफा आर्जन गरेको छ । अधिकांश देशसँग उच्च घाटा छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालले १७० वटा देशसँग कूल २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको छ ।

नेपालले ती देशहरुबाट कुल १९ खर्ब २० अर्ब ४४ करोडको आयात गरेकोमा २ खर्ब ३ करोडको मात्र निर्यात गरेको छ । जसबाट गत आवमा नेपालले १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार व्यापार घाटा व्योहोरेको छ ।

नेपालले कुल १७० वटा मुलुकसँग व्यापार गर्दा ३० वटासँगको व्यापार नाफामा छ। कति देशमा निर्यात मात्र भएको छ भने कति देशबाट आयात मात्रै भएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार मुलुकले व्यापार गरेको १ सय ७० मुलुकमध्ये डेनमार्कसँग सबैभन्दा बढी नाफा गर्दा भारतसँगको व्यापार घाटा सबैभन्दा उच्च रहेको छ ।

३० मुलुकसँगको व्यापार नाफामा

नेपालले विशेषगरी केहि अमेरिकन, अफ्रिकन तथा युरोपेली मुलुकसँगको व्यापारमा नाफा गरेको छ । नेपालले गत आर्थिक वर्षमा डेनमार्क, कम्बोडिया, अल्जेरिया, नाइजर, माल्दिभ्स, न्यु क्यालेडोनिया र अफगानिस्तान लगायतका ३० मुलुकसँगको व्यापारमा नाफा गरेको छ ।

नेपालले सबैभन्दा धेरै नाफा डेनमार्कसँग गरेको छ । गत आवमा डेनमार्कसँग २२ करोड २७ लाख व्यापार नाफा छ । गत आवमा डेनमार्कमा ७६ करोड ६४ लाख बराबरको निर्यात हुँदा ५४ करोड ३७ लाख बराबरको आयात भएको छ । दोस्रोमा कम्बोडियासँगको व्यापारमा १६ करोड ९१ लाख नाफा गरेको छ ।

त्यसपछि अफ्रिकी मुलुक अल्जेरियासँग ६ करोड ४६ लाख नाफा गरेको छ। त्यस्तै, नाइजरसँग ५ करोड २५ लाख, ग्युनियासँग २ करोड ४० लाख, न्यु क्यालेडोनिया २ करोड २४ लाख तथा माल्दिभ्ससँग २ करोड २ लाख नाफा भएको छ । गएको वर्ष नेपालले ७ मुलुकसँग २ करोड बढीको नाफा गरेको छ । अन्य मुलुकसँग भने नेपालको नाफा करोडभन्दा तल नै छ। सबैभन्दा कम नाफा ग्रेनेडासँग ११ लाख मात्र छ । व्यापार नाफा भएका ३० मुलुकमध्ये ७ वटा मुलुकबाट आयात शुन्य रहेको छ।

३९ देशबाट आयात मात्रै, ७ वटामा निर्यात मात्र

नेपालले व्यापार गरेका १ सय ७० देशमध्ये ३९ मुलुकसँग आयात मात्र गरेको छ। यसको अर्थ हो नेपाल ३९ देशमा निर्यात गर्न सकेको छैन । नेपालले निर्यात गर्न नसकेका टोगो, मार्शल आइसल्याण्ड, ब्राबाडोस, नर्थआइसल्याण्ड, सुरिनेम, सोमालिया, ग्युनिया बिसाउ, होण्डुरस, इस्ट टिमोर, क्यामरुन, सर्बिया, कोशोभो, एण्डोरा तथा बेलारुस लगायतका रहेका छन ।

त्यस्तै, नेपालले केही मुलुकसँग भने निर्यात मात्र गरेको छ। यस्ता मुलुकको संख्या ७ छ । ती देशहरुमा आर्मेनिया, ट्रिनिडा एण्ड टोबागो, मिक्रोनोशिया, बर्मुडा, क्रिकिस्तान, ग्रेनाडा लगायतका रहेका छन ।

भारतसँग उच्च व्यापार घाटा

विभागको तथ्याङ्क अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ । गत आर्थिक वर्षमा नेपालले भारतसँग मात्रै १० खर्ब ४४ अर्ब ९३ करोड व्यापार घाटा व्योहोरेको छ । गत आवमा भारतमा कुल एक खर्ब ५५ अर्ब बराबरको सामान निर्यात गरेकोमा १२ खर्ब १५ करोड बढीको आयात गरेको छ ।

नेपालको व्यापार घाटा उच्च हुने मुलुकमा चीन दोस्रो नम्बरमा तथा इन्डोनेसिया तेस्रो नम्बरमा रहेको छ । गत वर्ष चीनसँगको नेपालको व्यापार घाटा २ खर्ब ६३ करोड बढी छ । सो अवधिमा २ खर्ब ६४ अर्बको आयात भएकोमा चीनतर्फ ८० करोड ८७ लाख बराबरको मात्र निर्यात भएको छ ।

इन्डोनेसियासँगको नेपालको व्यापार घाटा ५३ अर्ब २४ करोड छ । नेपालको उच्च व्यापार घाटा हुने मुलुकहरुमा त्यसपछि क्रमश युनाइटेड अरब इमिरेट्स (युएई), अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया, युक्रेन, मलेसिया र ब्राजिल रहेका छन् ।

गत आवमा नेपालले सबैभन्दा कम व्यापार घाटा बोलिभियासँग व्योहोरेको छ । बोलिभियासँग ६५ हजार घाटा छ । गत आवमा नेपालले बोलिभियामा १ लाख ६० हजारको निर्यात गरेकोमा २ लाख २६ हजारको सामान आयात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय