२०८१ मंसिर २४ सोमबार

काठमाडौँ । विगत तीन दशकमा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानको सङ्ख्या ७४६ वटामात्र बढेको छ। हुन त बीचका वर्षहरूमा घटेर फेरि बढेको हुनाले सकारात्मक नै मान्न सकिन्छ तर, २०४९ सालमा ४ हजार २७१ ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठान रहेकामा २०७६ सालमा ५ हजार १७ पुगेको छ।

तर, २०५९ मा ३ हजार २१९ मा झरेर फेरि बढेको हुनाले सङ्ख्या बढेकै मान्न सकिन्छ। केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजाअनुसार ठूला उद्योगको सङ्ख्यासँगै यस्ता उद्योगबाट मूल्य अभिवृद्धि तथा उद्योगमा संलग्न व्यक्तिहरूको सङ्ख्या एवं रोजगारीमा पनि केही वृद्धि भएको पाइएको छ। उत्पादनशील ठुला उद्योगबाट सवा २ खर्ब रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि भएको छ।

६० प्रतिशत उद्योग अझै पूर्ण उत्पादन क्षमतामा अक्षम

राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ ले ६० दशमलव १ प्रतिशत उद्योग अझै पनि पूर्ण उत्पादन क्षमतामा संचालन हुन नसकेको बताएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ‘राष्ट्रिय औद्योगिक गणना २०७६’ ले सो कुरा जनाएको हो ।

औद्योगिक क्षेत्रका चारै औद्योगिक प्रतिष्ठानमध्ये ३९ दशलमव ९४ प्रतिशतले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेका छन । यो अवधिमा १८.७ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ७५.९९ प्रतिशत, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ५० देखि ७४ प्रतिशत, १०.३४ उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको २५ देखि ४९ प्रतिशत र बाँकीले २५ प्रतिशतभन्दा कम उपयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

पूर्णक्षमतामा उद्योग संचालन हुन नसक्नुमा बजार वा मागको कमीका कारण, कच्चा पदार्थको अपर्याप्तता, स्रोतको कमी, सीपमूलक कामदारको अभाव लगायत मुख्य कारण रहेको पनि सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणका अनुसार औद्योगिक क्षेत्रका चार वटै औद्योगिक प्रतिष्ठानहरुमा रहेका तलबी कामदारको संख्या ३ लाख ८१ हजा ६ सय ८७ रहेको छ । ति मध्ये खानी तथा उत्खनन क्षेत्रमा ५ हजार ७ सय १९ जना, औद्योगिक उत्पादनशिल क्षेत्रमा ३ लाख ४६ हजार १ सय ४३ जना, विद्युत्, ग्यााँस, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा १७ हजार २ सय ३८ जना र पानीको आपूर्ति,ढलनिकास,फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकापहरुको क्षेत्रमा १२ हजार ५ सय ८७ जना रहेका छन ।

त्यसैगरी औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठनहरु मध्ये करिव ७६ प्रतिशत उद्योग प्रतिष्ठन मात्रै बार्षिक २ सय ७० दिन सम्म संचालन भएको देखिएको छ ।

१९ प्रतिशत उद्योग प्रतिष्ठान १८० दिन देखी २६९ दिनसम्म, ४ प्रतिशत उद्योग प्रतिष्ठान ९० देखी १ सय ७९ दिन र बाँकीका उद्योग प्रतिष्ठान ९० दिन भन्दा कम संचालन भएको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा १ साउन २०७५ देखि २०७६ असार मसान्तसम्मको तथ्याकलाई समावेश गरिएको छ ।

सर्वेक्षणमा नेपालको अर्थतन्त्रलाई विभिन्न १७ वटा क्षेत्रमा बाँडेर औद्योगिक गणना गरिएको विभागले जनाएको छ । यो सर्वेक्षणका लागि १३ हजार १ सय ३९ वटा उद्योग प्रतिष्ठानलाई सहभागी गराइएको पनि उल्लेख छ ।

राष्ट्रिय औद्योगिक गणना, २०६९ मा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानले करिब २ खर्ब ४१ अर्ब ७७ करोड मूल्यबराबरको रकम लगानी गरेर करिब ३ खर्ब २२ अर्ब ५५ करोड मूल्यबराबरको औद्योगिक वस्तु उत्पादन गरेका थिए ।

यस सर्वेक्षणमा सोही समूहका प्रतिष्ठानले करिब ६ खर्ब २५ अर्ब ७२ करोडबराबरको रकम लगानीका रूपमा खर्च गरी करिब ८ खर्ब ६१ अर्व ५ करोड मूल्यबराबरको औद्योगिक वस्तु उत्पादन गरेका थिए । २०६९ सालमा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब ८० अर्ब ७८ करोडबराबरको मूल्य अभिवृद्धि गरेका थिए ।

यस सर्वेक्षणबाट ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब २ खर्ब ३५ अर्ब ३३ करोड रुपैयाँबराबरको मूल्य अभिवृद्धि गरेको पनि सर्वेक्षण देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय