
काठमाडौं । असार मसान्तको सीमा नजिकिँदै गएको र सरकारको खर्च बढेसँगै बैंकिङ प्रणालीमा आउने निक्षेपमा पनि सुधार आउने संकेत देखिएको छ । आइतवार र सोमवार मात्र बैंकिङ प्रणालीमा २५ अर्ब ४४ करोड रूपैयाँ थपिएको छ । आइतवार मात्रै १४ अर्ब र सोमवार ९ अर्ब रूपैयाँ निक्षेप थपिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आइतवार सम्ममा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम भने १७ अर्ब ४८ करोड रूपैयाँ छ ।
बैंकहरूमा सोमवारसम्ममा कूल निक्षेप संकलन ५० खर्ब २९ अर्ब रूपैयाँ पुगेको छ । यस्तो रकम आइतवार ५० खर्ब २० अर्ब रूपैयाँ थियो ।
शुक्रवारदेखि बढ्न थालेको निक्षेपको रकम दुई दिनमा उल्लेख्य मात्रामा बढेको छ । शुक्रबार एकै दिन बैंकहरूमा १४ अर्ब ४८ रूपैयाँ रूपैयाँ निक्षेपका रूपमा आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
बैंकहरूमा बुधवार २ अर्ब र बिहीवार भने ५ अर्ब रूपैयाँ निक्षेप थपिएको छ । यो अवधिमा कर्जा लगानी भने निक्षेपको तुलनामा कम भएको छ । आइतवारको तुलनामा सोमवार भने बैंकहरूको कर्जा २ अर्ब रूपैयाँले घटेको छ ।
अहिले बैंकहरूलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) मिलाउने चटारो छ । बैंकहरूले असार मसान्तसम्म सीडी रेसियो मिलाउनु पर्ने हुन्छ । बैंकहरूले यो बेला कर्जा लगानी गर्न भन्दा पनि ब्यालेन्स सिट मेन्टेन गर्नमै ध्यान दिने गरेका छन् ।
निक्षेप वृद्धि हुँदा र कर्जा प्रवाह घटेको अवस्थामा वाणिज्य बैंकहरुको सिडी रेसियो पनि धेरै पछि ८९ प्रतिशत भन्दा तल आएको छ ।