२०८१ मंसिर २३ आईतवार

काठमाण्डौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको विनिमय दर १२६.३४ रुपैयाँ तोक्यो । यो हालसम्मकै उच्च हो । यसअघि गत बिहीबार एक अमेरिकी डलरको विनिमय दर १२५.७२ रुपैयाँ पुगेको थियो ।

त्यसपछिका केही दिन डलरको भाउ केही सुस्ताएको थियो । मंगलबारदेखि भने पुनः बढ्न थालेको थियो । सोही क्रममा बुधबार अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको हो ।

डलर मजबुती हालसम्म कै उच्च बनेपछि डलर खरिदका लागि लगानी गर्नुपर्ने नेपाली रुपैयाँ धेरै हुनेछ । आयातमा आधारित अर्थतन्त्रका कारण डलरको मजबुतीले आयातमा बाहिरिने रकम बढ्नेछ । डलर सञ्चिति र शोधनान्तर घाटा गहिरिएको बेला डलरको मजबुतीले अर्थतन्त्रमा थप संकट निम्त्याउने जोखिम बढ्ने बताइन्छ ।

पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ ।

यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । विश्वबजारमै अमेरिकी डलरको माग बढेकाले भाउ पनि बढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय