काठमाडौं । राजधानीको कमलादी र धनकुटाको भेडेटारमा निर्माणधिन मुलुकको पहिलो ‘स्काई वाक टावर’ आयोजनाका लागि नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले ऋण लगानी गर्ने भएको छ ।
निफ्रा र निर्माणकर्ता वोन्डर्स ग्रुपबीच सोमबार ऋण लगानी सम्झौता भएको छ । बैंकले दुईवटै परियोजनाहरु निर्माणका लागि ६७ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा सिमा स्वीकृत गरेको छ ।
वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादीस्थित ‘स्काई वाक टावर’ ७८ मिटर उचाईको हुने र उक्त टावरमा योगास्थल, रेस्टुरेन्ट लगायतका मनोरञ्जनात्मक क्रियाकलापहरुका लागि व्यवस्था सहितको पूर्वाधारहरु रहने भएका छन् ।
मुलुककै अग्लो उचाईको टावरबाट काठमाडौं उपत्यकाको रमणीय दृष्य शिशाको सतहबाट अवलोकन गर्न सकिने यस परियोजनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकार्षित गर्ने अपेक्षा निर्माण कम्पनीको छ ।
यसैगरि धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’ सार्वजनिक निजी साझेदारी अवधारणा (पीपीपी) अन्तर्गत निर्माण गर्न लागिएको हो ।
प्रदेश १ को लगानी प्राधिकरण र परियोजना निर्माणकर्ताबीच भएको परियोजना विकास सम्झौता अनुरुप निर्माण हुन लागेको यस परियोजनाले देशको पूर्व भूभागको मुख्य पर्यटकीय स्थलको रुपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत गर्नेछ ।
बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतका बैंकको पदाधिकारीहरुको उपस्थिति थियो ।
परियोजनाको तर्फबाट अध्यक्ष प्रबेन्द्र पोखरेल, सञ्चालक पदमप्रसाद न्यौपाने, सञ्चालक तेजबहादुर सिंह, सञ्चालक खेमराज न्यौपानेलगायतका सञ्चालक र व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष प्रबेन्द्र पोखरेल तथा तय गरिएको मिति भित्रै सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । सोही कार्यक्रममा बैंक तर्फबाट सीईओ खतिवडाले यस्तै किसिमका पूर्वाधार निर्माणमा वित्तीय पहुँच पुर्याउन स्थापित भएको हुँदा यी परियोजनाहरुको सफलताको शुभकामनाका साथ भविष्यमासमेत यस्ता नवीनतम सोचलाई हातेमालो गर्ने बैंकको रणनीति रहेको जानकारी गराए ।















