२०८२ माघ २४ शनिबार

काठमाडाैं । चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो ६ महिनामा करदाताको संख्या उल्लेख्य रूपमा बढेको छ । आन्तरिक राजस्व विभागअन्तर्गत सक्रिय करदाताको संख्या ६ महिनामै तीन लाख ६१ हजार तीनजना थपिँदा कुल संख्या ७३ लाख ६० हजार तीन सय ५३ पुगेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष ०८१/८२ को असार मसान्तसम्म सक्रिय करदाता संख्या ६९ लाख ९९ हजार तीन सय ५० थियो । व्यावसायिक प्यानतर्फ करदाताको संख्या २० लाख ६० हजार सात सय ५८ बाट बढेर २१ लाख १६ हजार पुगेको छ । ६ महिनामा मात्रै ५५ हजार दुई सय ४२ नयाँ व्यावसायिक प्यान दर्ता भएका छन् । यसले व्यावसायिक गतिविधि विस्तार भइरहेको देखिन्छ ।

यस्तै, व्यक्तिगत प्यानतर्फ सबैभन्दा ठुलो हिस्सा देखिएको छ । व्यक्तिगत प्यान करदाता संख्या ४९ लाख दुई हजार सात सय २२ बाट बढेर ५२ लाख सात हजार ६ सय १२ पुगेको छ । यस अवधिमा तीन लाख चार हजार आठ सय ९० नयाँ व्यक्तिगत प्यान थपिएका छन् ।

विदेशी कामदार प्यानको संख्या पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको असारसम्म ३५ हजार आठ सय ७० रहेको डब्लु–प्यान संख्या ६ महिनामा आठ सय ७१ ले बढेर ३६ हजार सात सय ४१ पुगेको छ ।

त्यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुने करदाताको संख्या तीन लाख ५१ हजार सात सय ३५ बाट बढेर तीन लाख ६४ हजार नौ सय ९२ पुगेको छ । यस अवधिमा १३ हजार दुई सय ५७ नयाँ भ्याट दर्ता भएका छन् । अन्त:शुल्कतर्फ पनि करदाता संख्या एक लाख २४ हजार नौ सय ९७ बाट बढेर एक लाख २९ हजार नौ सय ४९ पुगेको छ ।

यसमा चार हजार नौ सय ५२ नयाँ दर्ता थपिएका छन् । आर्थिक गतिविधि विस्तार, डिजिटल दर्ता प्रणालीको पहुँच बढ्नु र कर दायरामा ल्याउने सरकारी प्रयासको परिणाम यस्तो भएको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर