काठमाडौँ । वि स २०७० मा सुनको मूल्य लगभग ६०,००० रुपैयाँ प्रति तोला थियो। यो मूल्य त्यस समयमा स्थिर रूपमा बढ्दै गयो, तर २०७५ पछि सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखियो, जसले गर्दा २०७६ सालमा सुनको मूल्य ९०,००० रुपैयाँ पार गर्यो र २०८२ मा आइपुग्दा २ लाख ४० हजार माथि पुग्यो ।
पछिल्लो समय सुनको मूल्यमा भएको यो अस्वभाविक बृद्धि हो । जसका कारण आगामी दिनमा सुनको मूल्य बढ्ने र घट्ने दुवै किसिमका अनुमानहरु गर्न थालीएका छन् ।
यस वर्ष सुनको मूल्य हेर्ने हो भने यो बर्षलाई ऐतिहासिक दृष्टिले ‘सुनौलो वर्ष’ भन्न सकिन्छ । यसअघि सुन जति चम्किने गथ्र्यो, त्यो भन्दा यस वर्ष अझ बढी सुन चम्किरहेको छ ।
सुनको मूल्य वृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष सम्बन्धित छ । सुन प्रायः अमेरिकी डलरमा मूल्यांकन हुन्छ । अमेरिकी अर्थतन्त्रमा अस्थिरता बढ्दा डलर कमजोर हुन्छ, जसको प्रभावले सुनको मूल्य बढ्छ । अन्य मुलुकको आर्थिक अवस्था सुनको मूल्यमा त्यति प्रभावकारी हुँदैन । अहिले अमेरिकाको आर्थिक अस्थिरता र उच्च मुद्रास्फीतिले लगानीकर्तालाई सुनमा आकर्षित गरेको छ ।
सुनको मूल्य वृद्धिलाई केवल अमेरिकी आर्थिक कारणमा मात्र सीमित गर्न सकिँदैन । विश्वव्यापी मुद्रास्फीति, प्रमुख राष्ट्रहरूको वित्तीय नीति, र आर्थिक अनिश्चितता पनि सुनको मूल्य वृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन् । लगानीकर्ताले कठिन आर्थिक अवस्थामा सुरक्षित सम्पत्ति खोज्नुनै मुख्य कारण हो, र सुन यसको लागि सर्वोत्तम विकल्प बनिरहेको छ ।















