सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा फोहोरबाट ग्यास र जैविक मल उत्पादन गर्न थालिएको छ। व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर-११ को सिमलकुनामा फोहोरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो।
वीरेन्द्रनगर-११ का युवा कृष्णप्रसाद ढकालले केपी दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहोरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु गरेका हुन्। नगरपालिकाभित्रको सबै फोहोरलाई संकलन गरी ग्यास र जैविक मल उत्पादनको लागि प्रयोग गर्ने गरिएको उनले जानकारी दिए।
१४ करोड रुपैयाँ लगानीमा जर्मन प्रविधिमा ग्यास प्लान्ट स्थापना गरी ग्यास र जैविक मल उत्पादन सुरु गरिएको ढकालको भनाइ छ। सो रकममध्ये ५ करोड विश्व बैंकको सहयोग छ।
अहिले तरकारी पसलबाट निस्कने फोहोर संकलन गर्ने गरिएको जनाउँदै ढकालले अब प्रत्येक घरघरबाट निस्कने फोहोर संकलन गरी प्रयोग गरिने योजना रहेको जानकारी दिए।
‘हामीले नगरपालिकासँग सहयोगको लागि आग्रह गर्यौँ, तर सहयोग पाएनौँ, अनि आफ्नै ट्र्याक्टर किनेर फोहोर संकलन गरेर ल्याइरहेका छौँ,’ उनले भने, ‘अब प्रत्येक घरबाट निस्कने फोहोर संकलन गरी ग्यास र जैविक मल उत्पादन बढाउँदैछौँ।’
ग्यास उद्योग प्लान्टबाट अहिले दैनिक ७ सय २० क्विन्टल ग्यास र ९ टन जैविक मल उत्पादन भइरहेको छ। उत्पादित ग्यास खाना पकाउनेसहित सवारी साधन सञ्चालनको लागि पनि प्रयोग गर्न सकिने भएकाले पेट्रोलियम पदार्थको खपतसमेत घट्ने सञ्चालक ढकालको भनाइ छ। गत जेठबाट ग्यास र जैविक मल उत्पादन सुरु भएको उनले बताए।
उनले भने, ‘यो ग्यास उत्पादनले सरकारलाई सहयोग पुग्ने छ। पहिलो कुरा रासायनिक मलको प्रयोगलाई घटाउने र त्यसमा दिने अनुदान हामीले उत्पादन गर्ने जैविक मलमा दिनुपर्छ, जसले गर्दा एकातिर अर्गानिक उत्पादन पनि बढ्छ भने अर्कोतर्फ हामीले फोहोरबाट ग्यास पनि उत्पादन गरिरहेका छौँ, यो ग्यासले खाना पकाउने मात्रै नभई सवारी साधन चलाउन पनि हुने भएकाले राज्यको वार्षिक १८ करोड रुपैयाँ रकम जोगिन्छ।’
ग्यास प्लान्ट उद्योगले वातावरणलाई समेत सन्तुलन राख्ने उनको भनाइ छ। ग्यास र जैविक मल उत्पादन गरिरहेको यो उद्योगमा अहिले १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उत्पादित ग्यास १ सय ४० रुपैयाँ प्रति किलो र मल २५ रुपैयाँ प्रति किलोमा बिक्री हुँदै आएको छ।
सरकारबाट सहयोग नपाएको गुनासो
ढकालले व्यक्तिगत लगानीमा सञ्चालन गरेको ग्यास र जैविक उत्पादन उद्योग सञ्चालनका लागि सरकारबाट सहयोग पाउन नसकेको गुनासो गरेका छन्। उनले सरकारले गर्नुपर्ने लगानी व्यक्तिले गर्दा पनि सरकारबाट सहयोग नपाएको बताए।
उनले भने, ‘मैले यो उद्योग सञ्चालनका लागि वीरेन्द्रनगर नगरपालिकासहित प्रदेश सरकारको समेत सहयोगको अपेक्षा गरेको थिए। तर सहयोग पाउन सकिनँ, करोडौँ लगानी गरेर स्थापना गरियो, पहिले जग्गा नै पाउन सकिनँ। नगरपालिकासँग फोहोर ल्याइदिने व्यवस्था मात्रै गरिदिनुहोस् भन्दा पनि सहयोग पाइनँ।’
उनले उत्पादनको लागि चाहिने मेसिन मर्मत गर्नुपरे पनि भारतमा लैजानुपर्ने बाध्यता आफूलाई रहेको जनाउँदै लगानी गरेर स्थापना गरेको उद्योग चलाउन सहज बनाइदिन सरकारसँग माग गरे। उनले २० वर्षपछि सरकारकै स्वामित्वमा उद्योग दिइनेसमेत जानकारी गराए।
कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले ग्यास प्लान्ट उद्योगको निरीक्षण गरेका छन्। सो अवसरमा उनले कर्णालीमै व्यक्तिगत रुपमा यति ठूलो लगानी गरी उद्योग स्थापना गर्न सफल भएको जनाउँदै सरकारले लिएको नीतिलाई समेत सघाउ पुग्ने विश्वास व्यक्त गरे।
‘कर्णाली प्रदेश सरकारले सुरुदेखि नै अर्गानिक प्रदेश बनाउने योजना बनाएको छ, यो योजनालाई यस्ता उद्योगले सघाउ पुग्ने छ। अहिले टनका टन जैविक मल उत्पादन भइरहेको छ, अब रासायनिक होइन, जैविक मलमा अनुदान सरकारले दिनुपर्छ,’ मन्त्री विसीले भने, ‘त्यतिमात्रै नभई अहिले विश्वव्यापी चुनौती बनेको जलवायु परिवर्तनको असर न्यूनीकरणमा समेत जैविक उत्पादनले सघाउ पुगेको छ।’















