काठमाडाैं । बैंकहरूमा ६ खर्ब रूपैयाँ हाराहारीमा लगानीयोग्य रकम थुप्रिएको छ । पुस महिनामा बैंकहरु कर्जा लगानीभन्दा असुलीमै बढी केन्द्रित रहेका छन् । विशेषगरी पुस आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम महिना भएकाले बैंकहरू कर्जा असुलीमै धेरै केन्द्रित हुने नेपाल बैंकर संघले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमै (साउन–भदौ–असोज) बैंकहरूको खराब कर्जा उच्च दरमा बढेर औसत ३.३३ प्रतिशत हाराहारी पुगेको थियो। केही बैंकहरूको यस्तो खराब कर्जा ४–५ प्रतिशतसम्म पुगिसकेको छ।
दोस्रो त्रैमासमा (कात्तिक–मंसिर–पुस) वित्तीय विवरणमा सुधार भएको देखाउन बैंकरहरूले पुसमा कर्जा असुलीमा ध्यान दिइरहेका छन्। बैंकहरूले पुस महिनाबाटै निक्षेपको ब्याजदर समेत घटाएका छन्। गत कात्तिकमा बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ११.००२ प्रतिशतसम्म ब्याजदर दिएका थिए।
पुसका लागि भने बैंकहरूले अधिकतम ९.६ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन्। वाणिज्य बैंकहरूको यस्तो औसत ब्याजदर ८.९९ प्रतिशत कायम भएको छ।
अहिले आयातमा सामान्य सुधार भने भइरहेकै छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंसिरमा एक खर्ब ३० अर्ब रूपैयाँ हाराहारीको आयात भएको छ। कात्तिकमा एक खर्ब चार अर्ब रूपैयाँको आयात भएको थियो भने असोजमा एक खर्ब ४८ अर्ब रूपैयाँको आयात भएको थियो।















