२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । सुन तस्करहरुले विभिन्न उपायको खोजी गर्दै नयाँ तरिकाले सुन भित्र्याउने गरेको देखिन्छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै ठूलो मात्रामा सुनको तस्करी भइरहेको पाइने गरेको विषय नयाँ रहेन । अझ पछिल्ला दिनहरुमा त विमानस्थलबाट मात्रै नभई पैदलमार्गबाट समेत सुन तस्करी हुने गरेको छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका कुनै बेला तस्करहरुको केन्द्र नै मानिन्थ्यो । तातोपानी नाकाबाट सुनदेखि विभिन्न अवैध सामाग्री तस्करी हुने गरेको पाइन्थ्यो । अहिले पनि चीनसँगको सीमाबाट दिनहुँ जसो सुनको तस्करी भइरहेका घटना बाहिरिने गरेका छन् । दोलखा र रसुवाबाट सुन तस्करी बढ्दो क्रममा रहेको हो । रसुवाबाट भएको तस्करी र दोलखाबाट भएको तस्करीको सुन काठमाडौं नै भित्रिएको देखिन्छ भने प्रहरीले सुन पसलबाटै पनि ठूलो मात्रामा अवैध सुन बरामद गर्ने गरेको छ ।

तस्करको मुख्य हव भने विमानस्थलनै बनेको छ । शरिरमै राखेर खुलेआम तस्करीको प्रयास गर्नुले पनि परिस्थिति कहाँसम्म पुगेको रहेछ आकलन गर्न सकिन्छ । यस्तो अवस्थाले सरकारमाथि समेत प्रश्न उठिरहेको देखिन्छ । सुन तस्करीबारे छानविन गर्न बलियो अधिकारसम्पन्न आयोग नै बनाइएपनि आयोग वेकामे जस्ता छन् । आखिर यसरी ठूलो मात्रामा सुनको तस्करी किन भइरहेको छ ? यसको प्रष्ट जवाफ आउन नसकेपनि अधिकांश सुन भारत पुग्ने गरेको दाबी गरिन्छ ।

नेपालमा आउने सुन दुबई, हङकङ, चीन लगायत मुलुकबाट तस्करी भइरहेको देखिन्छ । यी मुलुकमा नेपालको तुलनामा सुनको मूल्य समेत कम छ ।
शुक्रबारको तुलनामा पनि दुबईमा सुनको मूल्य नेपालको तुलनामा १७ हजार जति सस्तो देखिन्छ भने हङकङ चीनमा पनि सुनको मूल्य नेपालको तुलनामा कमै देखिन्छ ।

उसोतः नेपालमा भन्दा सुनको मूल्य भारतमा समेत कम छ । यस्तोमा तस्करीको सुन खपत भारतमा कसरी हुन्छ त ? मूल्यमा असमानता भएपनि नेपालमा ठूलो परिणाममा सुन तस्करी किन हुन्छ भन्ने ३ प्रश्न भने सतहमा देखिन्छ ।

नेपालमा प्रतिदिन १० केजी सुन बजारमा आउने गरेको छ । बजार मागअनुसार सुन प्राप्त हुन नसकेको सुनचाँदी व्यवसायीहरुले नै दाबा गर्ने गरेका छन् । तर, तस्करीको सुन भारतमा नै जाने विश्वास नेपालमा स्थापित जस्तो देखिन्छ । तस्करहरुले सुन नेपालको बाटो हुँदै भारतमा लैजाने गरेको दाबी गरिएपनि आधाबढी सुन नेपालमै खपत हुने विश्वास गरिन्छ ।

नेपालमा पनि सुनको माग ठूलो रहेको छ भने बिहे लगायतका सिजनमा त सुनको माग अत्याधिक हुने गरेको बताइन्छ । यि सबै श्रृंखलाले नेपाललाई सुन तस्करहरुले हब नै बनाएको भन्दै बहस समेत हुने गरेको देखिन्छ । सुन तस्करीमा हाइप्रोफाइल संलग्नता खुल्न नसकेपनि विमानस्थलबाटै भएका ठूला तस्करीले यस्ता प्रश्न उब्जनु स्वभाविक पनि हो ।

प्रहरीले विमानस्थल र भन्सारमा पहुँच पाउन नसकेकै कारण विमानस्थलबाट ठूलो मात्रामा सुन तस्करी भइरहेको दाबी गरेपनि सीमा नाकाबाट हुने तस्करी किन रोकिन सकेको छैन ? सर्वसाधारणमा संशय पैदा भएपनि यसबारे प्रष्ट भन्न सकिने आधार भने देखिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर