काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको स्थायित्व विपरीत हुने गतिविधिमा सम्झौता नगर्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलाई निर्देशन दिएका छन्। बैंक तथा वित्तीय संस्थासम्वद्ध संघका प्रतिनिधिसँगको छलफलमा अधिकारीले यस्ता घटनालाई बैंकिङ कसुरको दायरामा ल्याउनुपर्ने बताएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा अर्थतन्त्रको वर्तमान स्थिति र आगामी कार्यदिशासम्बन्धी अन्तरक्रिया सम्पन्न भएलगत्तै गभर्नरले छलफल गरेका हुन्। नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसी, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष नरेशसिंह बोहरा, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्त र नेपाल लघुवित्त बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामबहादुर यादवलगायतसँग अधिकारीले छलफल गरेका हुन्।
बैंकको ऋण तिर्दिन भनेर कुनै पक्षलाई उकास्ने गतिविधिलाई कानुनको दायरामा ल्याउनुपर्ने धारणा राखेको छलफलपछि गभर्नरको सचिवालयबाट जारी विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘ऋण लिएपछि तिर्नैपर्छ। कसैले तिर्दिन भन्छन् र तिर्नुपर्दैन भनेर ऋणीलाई उकास्छन् भने त्यस्ता गतिविधिलाई बैंकिङ कसुरको दायरामा ल्याउनुपर्ने देखिन्छ।’
छलफलमा अधिकारीले परिस्थितिजन्य असहजतामा परेका व्यवसायीका निम्ति सहजीकरणका लागि पनि निर्देशन दिएका छन्। उनले भनेका छन्, ‘असल मनसायले व्यवसाय सञ्चालन गर्दागर्दै पनि अर्थतन्त्रको प्रतिकूल अवस्था र परिस्थितिजन्य कारणले कसैलाई अफ्ठेरो परेको छ भने त्यस्ता व्यवसायीलाई सहजीकरण गरिदिनुस्। उद्योग-व्यवसाय सहजरूपमा सञ्चालन हुने आवश्यक वातावरण बनाऔँ। त्यसको निम्ति आवश्यक नीतिगत समन्वय र अभिभावकत्व ग्रहण गर्न राष्ट्र बैंक सधैँ तयार छ।’
गभर्नरसँगको छलफलमा संघका प्रतिनिधिले पछिल्लो समय कर्जाको सावा-ब्याज असुली तथा खराब कर्जाको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका थिए। बैंकिङ क्षेत्रमा कार्यरत जनशक्ति विदेशिने क्रम बढेकाले समाधानको निम्ति आवश्यक कदम चाल्नुपर्ने उनीहरुको सुझाव थियो। कर्जा नोक्सानीसम्बन्धी विद्यमान व्यवस्थामा सहजीकरण गर्नुपर्ने आवश्यकता पनि प्रतिनिधिहरुले औँल्याएका थिए।
छलफलका क्रममा अधिकारीले प्रधानमन्त्रीको संयोजकत्वमा आयोजित अर्थतन्त्रको वर्तमान स्थिति र आगामी कार्यदिशासम्बन्धी अन्तरक्रियामा उठेका विषयवस्तुबारे पनि जानकारी दिएका थिए।
छलफलमा डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू देवकुमार ढकाल, डा. गुणाकर भट्ट, रेवतीप्रसाद नेपाल र विश्रुत थापाले वित्तीय क्षेत्रका समसामयिक विषयमा धारणा राखेका थिए।















