काठमाण्डौं । दुई महिना यता अमेरिकाका तीन ठूला बैंक डुब्दा नेपाली बजारमा सुनको भाउ आकाशिएको छ । अमेरिकाका बैंक डुब्दा सुनमा लगानी बढेकाले अन्तराष्ट्रिय बजारमा सुनको भाउमा वृद्धि भएको हो । त्यसको असर नेपाल बजारमा पनि परेको छ ।
सुनको भाउले विहीबार नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ विहीबार १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको थियो । यो हालसम्म कै उच्च हो । यसअघि चैत २२ गते प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएर सुनको भाउले नयाँ रकेर्ड कायम गरेको थियो ।
यता आज अमेरिकी सुनको भाउ भने प्रतिऔँस २ हजार ५९ अमेरिकी डलर कायम गरिएको छ । चाँदी भने आज २५.८९ अमेरीकी डलरमा कारोबार भइरहेको छ । हिजो अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ४४ दशमलव ९७ पैसामा कारोबार भइरहेको थियो भने चाँदी २५ रुपैयाँ ७७ पैसामा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य निर्धारण हुन्छ ।
छापावाला सुनको भाउ नेपाली बजारमा १ लाख १५ हजार पुग्ने व्यवसायीहरुले अनुमान गरेका छन् । तत्काल अमेरिकाको अर्थतन्त्रमा सुधार नहुने भएकोले सुनको भाउ पनि बढ्दै जाने उनीहरुको अनुमान छ । एक हप्ता भित्र सुनको भाउ १ लाख १५ हजार पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व(अध्यक्ष तेजरत्न शाक्यले बताए । उनले भने, ‘सुनको भाउ तत्काल घट्ने अवस्थामा छैन यो एक हप्ता भित्र १ लाख १५ हजार पुग्छ’ ।
सुनको भाउमा वृद्धि हुनुको मुख्य कारण अमेरिकाको तेस्रो ठूलो बैंक फस्ट अमेरिकी रिपब्लिक बैंक टाट पल्टिनु नै हो । अन्य २ ठूला बैंक सिकिलन भ्याली र सिग्नेचर बैंक टाट पल्टिएको अवस्थामा अर्को बैंक पनि टाट पल्टिदा सुनमा लगानी गर्नेको संख्या बढेसँगै सु्नको भाउमा वृद्धि भएको हो । रिपब्लिक बैंक सन् १९८५ मा स्थापना भएको फर्स्ट रिपब्लिक अमेरिकाको १४ औं सबैभन्दा ठूलो बैंक हो ।
सन् २०२३ को मार्च ८ यता अमेरिकाका ३ ठूला बैंक टाट पल्टिएका छन् । सिकिलन भ्याली मार्च १० टाट पल्टिएको थियो भने सिग्नेचर बैंक मार्च १२ मा टाट पल्टिएको थियो । सिलिकन भ्याली र सिल्भर गेट बैंक पछि अमेरिकाको फस्ट रिपब्लिक बैंक टाट पल्टिएको हो । जसकारण अमेरिकाको क्षेत्रीय बैंकिङ प्रणालीमा असर पुगेको छ भने सुनमा लगानी गर्ने बढेका छन् । सिलिकन भ्याली बैंक ४० वर्ष पुरानो (सन् १९८३ मा स्थापित) बैंक हो । यो अमेरिकाको १६औँ ठूलो बैंक हो।
यस्तै अमेरिकाको अर्को वित्तीय संस्था सिग्नेचर बैंक पनि बन्द हुनुले पनि सुनचाँदीको भाउका प्रभाव पारेको छ । २००१ मा स्थापना सिग्नेचर बैंक न्यूयोर्क, कनेक्टिकट, क्यालिफोर्निया र नर्थ क्यारोलिना भरमा ३८ वटा निजी ग्राहक कार्यालयहरू भएको न्यूयोर्कमा आधारित वाणिज्य बैंक हो ।
बैंक-रन, तरलता अभाव व्यवस्थापनमा समस्या आएका कारण यी बैंकहरु बन्द हुने अवस्थामा पुगेका हुन् । अमेरिकामा यसअघि नै दुई ठूला बैंकहरु टाट पल्टिएको र अब यो बैंक पनि टाट पल्टिदा लगानीकर्ताहरु सुनमा आकर्षित हुँदा सुनको भाउमा वृद्धि भएको महासंघका पूर्व-अध्यक्ष तेजरत्न शाक्यले बताए । उनले नोटबजारसँग भने, ‘अमेरिकाका बैंक डुब्ने स्थिति बढिरहेकोले बैंकका पुँजी राख्नुको सट्टा सुनमा लगानी गर्नेको संख्या बढे त्यसैले सुनको भाउ बढेको हो । ’अन्तराष्ट्रिय बजारमा हुने उतावचढावका कारण सुनको भाउमा परिवर्तन हुने उनको भनाइ छ ।
यस्तै विभिन्न देशहरुले आफ्नो पूँजी सुरक्षित गर्नका लागि सुनमा लगानी गर्न थालेका छन् । टर्कीमा केन्द्रिय बैंकले यसअघि २२ टन सुन किनेको थियो भने हिजो मात्रै सिंगापुरका केन्द्रिय बैंकले पनि १७.३ टन सुन किनेको पाइएको छ । यसरी लगानीकर्ताहरु मात्रै नभई सेन्ट्रल बैंकहरुको पनि सुनमा आर्कषण बढेकोले सुनको भाउ बढेको हो ।
यस्तै सुनको भाउ बढ्नुको अर्को कारण रुस-युक्रेनको युद्ध पनि हो । रुस-युक्रेनको युद्धको सुरुवातदेखि नै सुनको भाउ उकालो लाग्न थालेको थियो । यस्तै सुनको भाउ वृद्धि हुनको अर्को कारण चीन र अमेरिकाको व्यापार युद्ध पनि हो । चीन र अमेरिकाबीच व्यापार युद्ध हुँदा लगानीकर्ताहरु डराएर सुनमा लगानी गर्दा सुनको भाउ वृद्धि भएको हो ।















