काठमाडौं । ०७९ जेठ महिनामा देशभर एक लाख २३ हजार कित्ताकाट भएकोमा अर्को महिना असारमा ३७ हजारमात्रै कित्ताकाट भयो । भूमि व्यवस्था मन्त्रालयले भूउपयोग नियमावली– ०७९ लागू गरेपछि असारदेखि कित्ताकाट शिथिल बनेको छ ।
कृषि भूमिको खण्डिकरण रोक्न गरिएको कडाईसँगै अघिल्लो वर्षको तुलनामा ०७९ मा कित्ताकाट ६० प्रतिशतले गिरावट आयो । कित्ताकाट ठप्प हुँदा समग्र घरजग्गा कारोबार र राजश्व उठ्न नै प्रभावित भयो । बैंकमा तरलता अभाव र चर्को ब्याजदरले पनि घरजग्गा व्यवसायमा मन्दी ल्याउन ठूलो भूमिका खेल्यो ।
दुई वर्षको तथ्यांक केलाउँदा ०७८ चैतमा सबैभन्दा धेरै एक लाख ७३ हजार कित्ताकाट भएकोमा ०७९ साउनमा घटेर १५ हजारसम्म खुम्चिन पुगेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा देखिन्छ ।
कित्ताकाट घट्दा घरजग्गा कारोबारमा मन्दी आएको र ठूलो धनरासी घरजग्गा क्षेत्रमा फसेको भन्दै सरकारले देशैभर पुरानै स्थितीमा कित्ताकाट खुला गरेको छ । अब स्थानीय तहले वर्गीकरण नगरेको ठाउँमा पनि कित्तकाट हुनेछ । सरकारको बुझाई छ– ‘घरजग्गा कारोबार चलायमान नहुँदा ठूलो रकम होल्ड भएर बस्दा समग्र अर्थतन्त्रमै शिथिलता आउन पुग्यो ।’
दुई वर्षको तथ्यांक हेर्दा वैशाख र जेठमा ०७८ मा भन्दा ०७९ मा धेरै कित्ताकाट भएको देखिन्छ । ०७८ वैशाखमा ९४ हजार कित्ताकाट भएकोमा ०७९ वैशाखमा एक लाख नौ हजार कित्ताकाट भए ।
यस्तै, ०७८ जेठमा ९४५ कित्ताकाट हुँदा ०७९ जेठमा एक लाख २३ हजार कित्ताकाट भएका थिए । ०७८ जेठमा कोभिडको डेल्टा भाइरस फैलिएपछि सरकारले लकडाउन गर्दा कित्ताकाट र किनबेच दुबै ठप्प थियो ।
०७९ असार, साउन, भदौ र अशोजमा कित्ताकाटमा व्यापक गिरावट आएपनि कार्तिकदेखि भने कित्ताकाट सुधार हुँदै गइरहेको देखिन्छ । जग्गाको वर्गीकरण गरी कित्ताकाटमा सहजीकरण गर्ने स्थानीय तहहरुको संख्या बढ्दै गएपछि कित्ताकाटको संख्या पनि बढ्न थालेको हो ।
०७९ चैतमा ८६ हजार ९७ कित्ताकाट भएको देखिन्छ, जुन असारयताकै सबैभन्दा उच्च रहेको भूमि विभागको तथ्यांकले देखाउँछ । कार्तिकमा २२ हजार, मंसिरमा ३१ हजार, पुसमा ४९ हजार, माघमा ५४ हजार, फागुनमा ६० हजार र चैतमा ८६ हजार जग्गा कित्ताकाट भएका छन् ।
हालसम्म १६० स्थानीय तहले कृषि र गैरकृषि भूमि वर्गीकरण गरेका छन् । अझै, ५९७ स्थानीय तहले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाट ठप्प छ । क्रमशः कित्ताकाट खुल्दै जाँदा संख्या पनि बढ्दै गइरहेको तथ्यांकमा देखिन्छ ।















