काठमाडौं । बैंकहरुले चैतमा बचतको ब्याजदर घटाएर मुद्दती निक्षेपको ब्याजदर भने यथावत राख्ने भएका छन् । बिहीबार बिहान बसेको बैंकर्स संघको पूर्ण बैठकले मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर भने ०.४ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको हो । बचतमा ६.४ प्रतिशत देखि ८.४ प्रतिशत रहेको ब्याजदर चैतमा ६ प्रतिशत देखि ८ प्रतिशत कायम राख्ने निर्णय भएको छ।
राष्ट्र बैंकले मुद्दति निक्षेपको अधिकतम ब्याजदर र बचतको न्युनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । साथै बचतको माथिल्लो र तल्लो ब्याजदर बीचको अन्तर अधिकत २ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्रबैंकको निर्देशन भित्र रहेर मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशतलाई कायम राखेर बचतको ब्याजदर ६ प्रतिशतदेखि ८ प्रतिशत कायम राख्ने निर्णय बैंकर्स संघले गरेको हो । यस्तै कर्जामा पनि बेस रेटमा ५ प्रतिशत भन्दा बढी ब्याज नलिने निर्णय भएको छ ।
कुल निक्षेपमा बचतको हिस्सा करिब २७ प्रतिशत रहेको छ । बचतको ब्याजदर ०.४ प्रतिशतले घटाउँदा निक्षेपको लागत सँगै बेस रेट घटेर कर्जाको ब्याजदर पनि घटाउन सहयोग गर्ने बैंकहरु बताउँछन् ।
राष्ट्र बैंकले कल निक्षेपमा पनि बचतको न्युनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याजदर दिन पाइने व्यवस्था गरेको छ । बचतको ब्याजदर घट्दा कल निक्षेपको ब्याजदर पनि स्वत घट्छ ।















