काठमाडौं । व्यवसायीले सुनको कोटा बढाउन माग गरेपनि पुसमै मगाएको सुन फागुन सकिन लाग्दासमेत बिक्री भएको छैन। सुन व्यवसायीका संगठनले कहिले नियामक त कहिले सरकारका प्रतिनिधिहरुलाई भेट्दै सुनको कोटा बढाउन माग गरिरहेका छन्। अहिले दैनिक १० केजी सुन आयात गरेर बिक्री गर्न पाइन्छ।
व्यवसायीले भने आयातको कोटा २५ किलोसम्म पुर्याउनुपर्ने माग गरिरहेका छन्। ‘हामीले पुसतिर मगाएको सुन अझै मौज्दात छ,’ बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, ‘अब पहिले यो बिक्री होस् अनि मगाउनु पर्छ भन्ने सोचमा छौं।’
नेपालमा सुनको आयातको जिम्मा वाणिज्य बैंकहरुले मात्र पाएका छन्। बैंकर्स संघले कुन बैंकलाई कति भनेर कोटा र समय तोकिदिएको छ। त्यही अनुसार बिक्री वितरण हुन्छ।
संघका अनुसार, अझै पनि वाणिज्य बैंकहरुसँग करिब १ सय ५० किलो सुन मौज्दात बाँकी छ। फागुनमा विवाहका साइतहरु भए पनि अपेक्षाकृतरूपमा बजारमा सुनको माग उच्च देखिएन। सुनको मूल्य तोलाको एक लाखभन्दा माथि रहेकाले पनि मागमा कम आएको अनुमान छ।
‘अहिले हामीसँग भएको सुनको मौज्दात सकिन्छ अनि छलफल गरेर थप मगाउँछौं,’ शर्माले भने, ‘बिक्री भइसकेपछि बजारमा सुनको के-कति माग रहेछ भन्ने पनि थाहा हुन्छ।’















