काठमाडौं । ज्योति विकास बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा उक्त सभा सम्पन्न भएको हो।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर तथा ३.८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। ३ प्रतिशत बोनस सेयर पारित गरेपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ पुगेको बैंकले बताएको छ।
सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ।
यस्तै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ। साथै, सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।















