काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए ।
तर, नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका छन् । उनले बजेटको आकार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले घटाएका हुन् ।
आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोडमा झारेको बताएका छन् । त्यस्तै पूँजीगततर्फ गत जेठ १५ मा ३ खर्ब ८० अर्ब ३८ करोड छुट्याइएकोमा ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयँँमा झारिएको छ ।
८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन
सम्बोधनकै क्रममा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत लक्ष्य पूरा नहुने बताएका छन् । उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने बताएका हुन् ।
धान उत्पादन गत वर्ष भन्दा सामान्य मात्र वृद्धि हुने अर्थमन्त्री पौडेलले बताए । उनले कोभिडको समयमा लिइएको सहजीकरणमा समयमै उचित निर्णय लिन नसक्दा अहिले समस्या परेको बताए।
२०७९ पुससम्ममा राजश्वको लक्ष्य ६ खर्ब ५१ अर्ब रहेकोमा सो अनुसार संकलन नभएको उनले बताए। ‘लक्ष्यभन्दा राजश्व २४.८ प्रतिशतले कम संकलन भएको छ,’ उनले भने। आर्थिक वर्ष २०२४/२५ पछि पहिलो पटक राजस्व नकारात्मक वृद्धिदर देखिएको पनि अर्थमन्त्री पौडेलले बताए।
राजस्व प्रशासन तथा प्रणालीमा सुधार गर्न पर्ने विगतदेखि नै देखिएको भए पनि यसो हुन नसकेको र आफूले मन्त्रालयको जिम्मेवारीमा आउनासाथ यसलाई उच्च प्राथमिकतामा राखेको पौडेलले बताए। बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको उनले बताए ।















