काठमाण्डाै । बैंक तथा वित्तीय संस्थाको निक्षेप ५२ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत मंसिर २३ गते शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाहरुकोे निक्षेप ५२ खर्ब २० अर्ब रुपैयाँ पुगेको हो । २२ गते बिहीबारसम्म ५२ खर्ब १४ अर्ब निक्षेप रहेको थियो । बैंकिङ प्रणालीमा रहेको निक्षेपमा वाणिज्य बैंकमा ४५ खर्ब ९८ अर्ब तथा विकास बैंक र फाइनान्स कम्पनीसँग ६ खर्ब २१ अर्ब छ । राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ६१ अर्ब कर्जा परिचालन गरेका छन् ।
वाणिज्य बैंकहरुले ४२ खर्ब १५ अर्ब कर्जा परिचालन गरेका छन भने विकास बैंक र फाइनान्स कम्पनीले ५ खर्ब ४६ अर्ब कर्जा प्रवाह गरेका छन् । बैंकमा निक्षेप बढ्दै गएपछि कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.३२ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले यस्तो सीमा ९० प्रतिशतभन्दा नाघ्न नहुने व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले एक–आपसमा गर्ने अन्तरबैंक कारोबारको ब्याजदर गत आइतबार ७.०८ प्रतिशतमा झरेको छ । बैंकहरूले राष्ट्र बैंकबाट पाँच दिनका लागि प्राप्त गर्ने स्थायी तरलता सुविधाको ब्याजदर पनि ८.५ प्रतिशत तोकिएको छ । आइतबार २९ बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट ८ करोड रुपैयाँ मात्र एसएलएफ लिएका छन् ।















