काठमाडौं । नेपाल क्लियरिङ हाउसले संचालन गरिरहेको इलेक्ट्रोनिक चेक क्लियरिङ र एनसीएचएल-आइपीएसबाट हुने कारोबार घट्दै गएपनि कनेक्ट आइपीएसबाट हुने कारोबार भने बढ्दै गएको छ। पछिल्लो समय कनेक्ट आइपीएसबाट हुने कारोबारले नयाँ नयाँ रेकर्ड राख्दै आएको छ। रिटेल पेमेन्ट स्वीच अन्तर्गतको कनेक्ट आइपीएसबाट हुने कारोबारमा उछाल देखिएको छ।
गत आवको पहिलो त्रैमासमा ९७ लाख कारोबारबाट ६ खर्ब ८८ अर्ब रुपैयाँ भुक्तानी भएको थियो। यो संख्या चालू आवको पहिलो त्रैमासमा बढेको छ। चालू आवको पहिलो त्रैमासमा १ करोड १३ लाख वटा कारोबारबाट ८ खर्ब ७२ अर्ब रुपैयाँ भुक्तानी भएको छ।
कनेक्ट आइपीएसको प्रयोग ५६.७ प्रतिशत नेसनल पेमेन्ट इन्टरफेस (एनपीआइ) बाट, २०.३ प्रतिशत वेब, ११.२ प्रतिशत मोबाइल एप, ७.६ प्रतिशत गेटवे, २.७ प्रतिशत बैंकका शाखा र बाँकी १.४ प्रतिशत कर्पोरेट पेबाट भएको एनसीएचएलको तथ्यांक छ।
कनेक्ट आइपीएसमा ५७ बैंक तथा वित्तीय संस्था, ३२ सरकार तथा अर्धसरकारी संस्था, २२ भुक्तानी सेवा प्रदायक तथा संचालक र ४३ अन्य संस्था आबद्ध छन्। यस्तै, एनसीएचएल-आइपीएस प्रयोग गरी गत आवको पहिलो त्रैमासमा ३३ लाख वटा कारोबारबाट ५ खर्ब ४५ अर्ब रुपैयाँ भुक्तानी भएको थियो। चालू आवको पहिलो त्रैमासमा भने २६ लाख कारोबारबाट ४ खर्ब ४८ अर्ब रुपैयाँ भुक्तानी भएको एनसीएचएलले जनाएको छ।
एनसीएचएल-आइपीएस प्रयोग ५२.१ प्रतिशत एनपीआइबाट, ४२.४ प्रतिशत बैंकका शाखा र बाँकी ५.५ प्रतिशत कर्पोरेट पेबाट प्रयोग भएको कम्पनीले जनाएको छ। त्यसैगरी, एनसीएचएलले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासको विवरण अनुसार इलेक्ट्रोनिक चेक क्लियरिङको कारोबार संख्या र भुक्तानी नै घटेको छ।
गत आवको पहिलो त्रैमासमा ४१ लाख कारोबारबाट २८ खर्ब ८८ अर्ब रुपैयाँ भुक्तानी भएको थियो। चालु आवको पहिलो त्रैमासमा भने ३८ लाख वटा कारोबारबाट १९ खर्ब ९० अर्ब रुपैयाँ भुक्तानी भएको छ। एनसीएचएलको इलेक्ट्रोनिक चेक क्लियरिङ सेवामा विभिन्न ५९ बैंक तथा वित्तीय संस्था आबद्ध छन्।















