काठमाडौं । पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्न थप तीनवटा मुलुकसँग दुईतर्फी हवाई सम्झौता गर्ने भएको छ। मन्त्रालयले अमेरिका, रुस र इन्डोनेसियासँग सीधा हवाई उडानका लागि छलफल सुरु गरिसकेको सहसचिव बुद्धिसागर लामिछानेले बताए।’यात्रु आउजाउ सहजता र दुईपक्षीय पर्यटन प्रवर्द्धन गर्न हवाई सम्झौता गर्न लागिएको हो। हवाई सम्झौताका लागि तीन मुलुकका प्रतिनिधि र मन्त्रालयबीच समन्वय भइरहेको छ।’
नेपाल-अमेरिका दुईतर्फी सिधा हवाई सेवा सुरु गर्ने बारेमा दुई महिना अघिदेखि छलफल भएको छ। नागरिक उड्डयन प्राधिकरण (क्यान) र अमेरिकाको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनबीच छलफल भएको थियो।
सो छलफलमा अमेरिकाका युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स र नेपालका तर्फबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले उडान गर्न सक्ने प्राधिकरणले जनाएको छ।
हाल नेपालमा टर्किस, कतार एयरवेज, सिंगापुर, थाइ लगायत विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल-अमेरिका उडान सेवा दिँदै आएका छन्। जसमध्ये सिंगापुर एयरलाइन्सले सबैभन्दा बढी यात्रु अमेरिका लगिरहेको छ।
सरकारले रुसँसँग पनि हवाई सेवा सम्झौताका लागि छलफल अगाडि बढाउने भएको छ। सन् १९८९ मा रुससँग एकतर्फी उडान सम्झौता भएको थियो। मस्को उडान अवतरण विन्दु बनाइएको यो गन्तव्यमा साताको १ सय ६४ र वार्षिक ८ हजार ५ सय २८ यात्रुलाई सेवा दिन सकिने सम्झौता भएको थियो।
इन्डोनेसिया-नेपाल दुईतर्फी उडानका लागि मन्त्रालयले आधिकारिक जीएसए तोकिसकेको छ। इन्डोनेसियाको गरुडा एयरका लागि नेपालको सोसाइटी इन्टरनेशनल आधिकारिक जीएसए रहेको छ। सम्झौता लगत्तै यो कम्पनीले बोइङ ७७७ सिरिजको जहाजमार्फत उडान गर्नेछ।
हाल नेपालले ४० वटा मुलुकसँग दुईतर्फी सिधा उडानको सम्झौता गरिसकेको छ। कुल ४० मध्ये २० वटा गन्तव्यमा मात्र नियमित व्यवसायिक उडान हुँदै आएको छ। थप तीन गन्तव्य थपिएसँगै दुईतर्फी हवाई सम्झौता भएको मुलुकको संख्या ४३ पुग्नेछ।















