काठमाडौं । चुनाबको घोषणासँगै राजनीतिक चहलपहल बढेपछि आन्तरिक उडानमा चाप परेको छ। साउनमा मन्दी छाएको उडानमा भदौ लागेसँगै यात्रुको चाप बढ्न थालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुनाब घोषणासँगै विमानस्थलमा चाप बढेको जानकारी दिए।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले भदौ लागेसँगै यात्रुको चाप बढेको बताउँदै चाडपर्व पनि सुरु भइसकेकोले यात्रुको चाप थप बढ्ने बताए। यती एयरलाइन्समा पनि यात्रु बढ्न थालेको देखिएको छ। कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले अहिले दैनिक दुई हजार यात्रु बढेको बताए।
कम्पनीले दैनिक २३ वटा उडान गर्दै आएको छ। कम्पनीले आफ्नो जहाज क्षमता अनुसार अधिकतम २८ वटा उडान गर्दै आएको छ। श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले यात्रुको चाप उत्साहजनक रहेको बताए।
त्रिभुवन विमानस्थलका अनुसार हाल विभिन्न वायुसेवा कम्पनीका जहाजले कुल एक सय ३० उडान गर्दै आएका छन्। पछिल्लो समय दैनिक १२ हजार यात्रुले सेवा लिँदै आएका छन्।















