काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा चीनबाट साढे आठ अर्ब रुपैयाँको लगानी भित्रिएको छ । उद्योग विभागको तथ्यांक अनुसार जेठमा ६० वटा उद्योगका लागि ८ अर्ब ८५ करोड ६० लाख रुपैयाँ विदेशी लगानी भित्रिएको हो । जसमध्ये चीनबाट ८ अर्ब ५५ करोड ६० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको हो ।
विभागका अनुसार यस अवधिमा चीनबाट पर्यटन, पूर्वाधार, औद्योगिक र सेवामुलक क्षेत्रमा उक्त रकम बराबरको लगानी प्रतिवद्धता आएको हो । चालु आवको ११ महिनामा २२३ उद्योगका लागि ४३ अर्ब ३९ करोड ६० लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता भएको छ ।
लगानी स्वीकृत भएका उद्योगहरुमा ठूला उद्योग ४ वटा मझौला उद्योग ४७ वटा र साना उद्योगहरु १७२ वटा रहेका छन् । यस अवधिमा लगानी स्वीकृत भएका उक्त उद्योगहरुमा १२ हजार ९०८ जनालाई रोजगारीको प्रस्ताव गरिएको छ ।
विभागमा दर्ता भएका ६० वटा परियोजनामध्ये सबैभन्दा बढी २७ वटा परियोजना पर्यटन क्षेत्रका लागि रहेका छन् । भने १६ वटा परियोजना सेवा मुलक क्षेत्रका लागि, चार वटा परियोजना औद्योगिक क्षेत्रका लागि र १३ वटा पूर्वाधारका परियोजनाहरुका विदेशी लगानी प्रतिवद्धता आएको हो ।
विभागका अनुसार यस अवधिमा पर्यटन क्षेत्रका २६ वटा परियोजनाका लागि आएको लगानीमध्ये चीनबाट पर्यटन क्षेत्रका २४ वटा परियोजनाका लागि ४ अर्ब १० करोड ६० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । त्यस्तै, पर्यटन क्षेत्रका परियोजनाका लागि इटालीबाट ५ करोड रुपैयाँ र युकेबाट ५ करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ ।
त्यसैगरी, चीनबाट औद्योगिक क्षेत्रका लागि चीनबाट ९० करोड रुपैयाँ र पूर्वाधार क्षेत्रका गार्मेन्ट उद्योग, कन्ट्रक्शन सर्भिस, म्यानुफ्याक्चर अफ स्टिल फर्निचर, पब्लिकेशन सर्भिस, विडन फर्निचर म्यानुफ्याक्चरिङ इन्डष्ट्रि, आइ ग्लास फ्रेम म्यानुफ्याक्चर र आइरन प्रोडक्ट लगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।
यसअवधिमा पूर्वाधारका क्षेत्रमा भारतबाट ५ करोड रुपैयाँ, क्यानडाबाट ५ करोड रुपैयाँ र युएसएबाट प्युरिफिकेशन सर्भिसका लागि ५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार यस अवधिमा सेवामुलक क्षेत्रका १६ वटा परियोजनामध्ये चीनबाट इन्टरनेशनल कार्गो ह्यान्डलिङ इन्टष्ट्रि, हस्पिटल प्रोजेक्ट, सफ्टवेयर डेभलपमेन्ट लगायतका १५ वटा परियोजनाका लागि १ अर्ब ९१ करोड रुपैयाँ र बंगलादेशबाट सफ्टवयेर डेभलपमेन्टका लागि ५ करोड रुपैयाा लगानी प्रतिवद्धता आएको हो ।