
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुको पूँजी बृद्धि गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विप्रेषण निरीक्षण तथा सुपरीवेक्षण विनियमावली २०७९ जारी गर्दै पूँजी बृद्धिको व्यवस्था गरेको हो । गैरबैंक वित्तीय संस्था सुपरीवेक्षण विभागले जारी गरेको उक्त विनियमावली राष्ट्र बैंक सञ्चालक समितिको जेठ १८ गतेको बैठकबाट स्वीकृत गरेको हो ।
उक्त विनियमावलीको परिच्छेद ५ अन्तरगत सुधारात्मक प्रक्रिया सम्बन्धी व्यवस्थामा राष्ट्र बैंकबाट जारी गरिएका निर्देशन, परिपत्रको पालना गराउने र संस्थागत सुशासन कायम गर्ने, पूँजी थप गर्न लगाउने, संस्था सुधारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका असल अभ्यास तथा विधिको अवलम्बन गर्न लगाउने र सम्बन्धित विप्रेषकका पदाधिकारी, लेखापरीषक तथा सम्बन्धित सरोकारवालासँग आवश्यकता अनुसार छलफल गर्ने, लिखित वा मौखिक जानकारी लिने र अन्य सूचना जानकारी प्राप्त गर्ने उल्लेख छ ।
राष्ट्र बैंकले इजाजतपत्र प्राप्त गरी विप्रेषणसम्बन्धित कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाको निरीक्षण तथा सुपरीवेक्षण गर्ने प्रयोजनका लागि राष्ट्र बैंक ऐन २०५८ को दफा ६३ र विदेशी विनिमय (नियमित) ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सञ्चालक समितिले उक्त विनियमहरु बनाएको हो ।
राष्ट्र बैंकबाट अनुमति लिएर हाल ४२ वटा विप्रेषण सम्बन्धी कारोबार गर्ने कम्पनीहरु सञ्चालनमा छन् । हालको व्यवस्था अनुसार कम्पनीहरुको पुँजी कारोबार र सेवाको आधारमा २ करोड रुपियाँदेखि २५ करोडसम्म चुक्ता पूँजी तोकिएको छ ।