
काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रपति तथा प्रधानमन्त्रीसहित उच्चपदस्थ अधिकारीहरूको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धि एकीकृत निर्देशिका संशाेधन गर्दै उच्चपदस्थ अधिकारीहरूको खातालाई निगरानी गर्न निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्तिको खाताको नियन्त्रण गर्नुपर्ने उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले राष्ट्रपति तथा प्रधानमन्त्रीबाहेक संसदका सदस्य, संवैधानिक निकायका प्रमुख तथा उच्च सरकारी कर्मचारीको खाता निगरानी गर्नुपर्नेछ ।
यस्तै कम्पनीको नाममा भइरहेकाे कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिन सक्ने अधिकारीको खातासमेत निगरानीमा राख्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ ।
यसले अस्वाभाविक रूपमा कारोबार भइरहेका कम्पनीमा सेयर स्वामित्व नभए पनि प्रभाव पार्ने व्यक्तिलाई समेत निगरानी गर्न बाटो खुलेको छ ।