
काठमाडौं । ब्याजदर थप बढ्ने गभर्नर महाप्रसाद अधिकारीको बयानपछि सेयर बजारको फराकिलो गिरावटलाई योगदान पुर्याएको छ। बिहीबार सिर्जना भएको बिक्रेताको तीब्र चापले परिसूचक २२३८.६२ अंकमा आएको छ। अहिलेसम्मकै उच्चतम ३२२७ अंकको बुलबाट झरेको बजारले बिहीबार त्यसयताको न्यूनतम विन्दुलाई छोएको हो।
नभए बजारले बीचमा टेवा लिएर माथि जाने गरेको थियो। पछिल्लो सात कारोवार दिनमा बजार २०६ अंकले घटिसकेको छ। सेयर बजारको वृद्धिमा तगारो बनेको ब्याजदर फेरी बढ्ने सूचना पाएलगत्तै लगानीकर्ताको रणनीति समयमै बिक्री गरी बजारबाट उम्किने देखिएको हो। यद्यपि बुधबार मात्रै बैंकहरुले तरलताबाट प्याकप्याक्ति भएर ९८ अर्ब रुपैयाँ स्थायी तरलता सुविधा उठाएका थिए। स्थायी तरलता सुविधा ठूलो आकारमा उठाउनुले संकट गहिरिएको पुष्टि गर्छ।
राष्ट्र बैंक चालु वर्षको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारीमा छ। अर्ध वार्षिक समीक्षामार्फत नीतिगत दरहरुसँगै स्थायी तरलता सुविधा दर र पुनर्कर्जा ब्याज दर बढाएको थियो। मौद्रिक समीक्षाको मुखैमा गभर्नर अधिकारीले ब्याज दर थप बढ्ने बताएका हुन्। उनको भनाइले नीतिगत ब्याज दर थप बढेर बजार ब्याज बढ्ने संकेत गर्छ।
यसअघि पनि नीतिगत ब्याज बढेपछि बैंक तथा वित्तीय संस्थाले बजार ब्याज दर बढाएका थिए। बजार ब्याज बढेका कारण आधार दर वृद्धि भएर ऋण महँगिएको थियो। महँगो ऋणमा पनि पैसा पाउने अवस्था छैन। पछिल्लो समय बैंकहरु ऋण घटाउनु पर्ने दबाबमा छन्। त्यही भएर बैंकहरुले सेयर धितो ऋण लिएकाहरुलाई पेल्न थालेका छन्। चौतर्फी दबाब एकैपटक पर्दा बजार निरन्तर घटेको हो।
भोलिपल्टै अर्थात बिहीबार बजार ३७.०६ अंक तल ओर्लिएको हो। नियामकको नियन्त्रणरुपी दबाबका कारण यसअघि २२६० को न्यूनतम विन्दुसम्म बजार फर्किएको थियो। बिहीबार उक्त विन्दुलाई समेत ब्रेक डाउन दिँदै परिसूचक २२३८ को विन्दुका सीमित हुन पुगेको हो। कायम तरलता संकट र अर्थतन्त्रको बिग्रंदो आकारले पनि बजारको गिरावटमा योगदान पुर्याएको जानकारहरु तर्क गर्दै आएका छन्।