काठमाडौं । नीतिगत अस्थिरताले अर्थतन्त्र संकटमा पुगेको पूर्वअर्थमन्त्री युवराज खतिवडाले बताएका छन । नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले काठमाडौंमा आयोजना गरेको नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान विषयक कार्यक्रममा डा.खतिवडाले सो कुरा बताएका हुन ।
डा.खतिवडाले अर्थतन्त्र ट्रयाकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता भएको भन्दै आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने सवालमा अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्रवैंकबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए । उनल अर्थतन्त्रमा संरचनागत समस्या रहेको भन्दै कृषि सडक देखि जलविद्युत सवै क्षेत्रमा आयात गर्नुपरेको एवं व्यापार व्यवस्थापन प्रभावकारी हुन नसकेको बिषयलाई उजागर गरे ।
आयात घटाउँदै जाने र निर्यात प्रवद्र्धन गर्ने गरी अल्पकालिन र दिर्घकालिन नीति बनाएर अघि बढ्न पनि उनले सरकारलाई सुझाव दिए । मुलुकको अर्थतन्त्रमा जोखिमको अवस्था कायमै रहेको भन्दै उनले सरकार संयम हुनुपर्ने बेला आएको बताए । उपभोग्य बस्तुहरुको अभावसंगै मुल्यवृद्धि हुने हल्लामा बजारमा अनावश्यक त्रास सिर्जना हुने गरेको डा खतिवडाको भनाई थियो ।
मुलुकको अर्थतन्त्रको महत्वपुर्ण हिस्सा ओगट्ने नीजि क्षेत्र पनि जिम्मेवार हुनुपर्ने उनको भनाई छ । घर जग्गा व्यवसायलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिदै डा. खतिवडाले भने,‘शिक्षामा अनावश्यक रुपमा विदेशिएको रकम, हुण्डी कारोबार तथा नेपालीको बैदेशिक भ्रमणलाई केही हद सम्म रोक्ने हो भने पनि त्यसले विदेशी बिनिमय संचितिमा सकारात्मक प्रभाव पार्ने छ’ ।अर्थतन्त्रमा पछिल्लो समय सकारात्मक संकेतहरु देखिन थालको भन्दै उनले ब्यबहारिक रुपमै ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि हेर्न चाहेको बताए ।
चेम्बरका उपाध्यक्ष दिपक श्रेष्ठले सरकारले हचुवाका भरमा बस्तुहरुको आयात रोकेको तर्क राखेका थिए ।आफुहरुले आयतलाई नियन्त्रण नभई व्यवस्थित गर्न आग्रह गर्दै आएको उनको भनाई थियो । कुन बस्तु आयात गर्ने, कुन नगर्ने भन्ने विषयमा पहिला नीजि क्षेत्रसंग छलफल तथा अध्ययन पछि मात्रै सरकारले निर्णय गर्दा उपयुक्त हुने उनको भनाई छ । आन्तरिक उत्पादन बढाएर निर्यात प्रवद्र्धन गर्नका लागि राज्यको नीति प्रभावकारी हुनुपर्ने उपाध्यक्ष श्रेष्ठले जोड दिए ।
बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्द बहादुर कार्कीले बैदेशिक बिनिमय संचितिमा असर गर्न थालेपछि बिलासिताका बस्तुको आयात नियन्त्रण गरिएको बताए । यद्यपी यो अल्पकालिन भएको कार्कीको भनाई थियो । आफुहरु निजी क्षेत्र बिरोधी नभएको भन्दै उनले आयातलाई दिर्घकालसम्म असर नगर्ने गरि सरकारले निर्णय गरेको बताए । व्यापार घाटा कम गर्न तथा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नका लागि सरकारले केही बस्तुको आयात रोकेको कार्कीको भनाई छ ।
कार्यक्रममा अर्थविद विश्वास गौचन, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार केसी लगायतले मुलुको अर्थतन्त्रमा केही चाप परेपनि अल्पकालिन भएको बताएका थिए । युथ चेम्बरका अध्यक्ष दिपेश रत्न तुलाधरले अर्थतन्त्रका सबै क्षेत्रमा एकैचोटी चाप परेकाले सरकार र सरोकारवालाको ध्यानकर्षण गराउन खोजिएकोे बताएका थिए ।