२०८१ मंसिर २१ शुक्रबार

काठमाडौं । स्टक ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याइएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन) २०७७’ कार्यान्वयनमा ल्याएको हो । नेप्सेले २ वर्ष अघि नै ब्रोकरमार्फत हुने मार्जिन लेन्डिङका लागि कार्यविधि बनाएर लागू गरेको थियो ।

तर उक्त कार्यविधि व्यवहारिक नभएको भन्दै लगानीकर्ताले चासो नदेखाएपछि संशोधनका लागि बोर्डसमक्ष पेश गरेको थियो । बोर्डले संशोधन गरेको करिव एक वर्षपछि नेप्सेले कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।

कार्यविधिमा संशोधनमा गर्दै स्टक ब्रोकरले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १२० दिनको औसत मूल्य वा अन्तिम बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको आधारमा गणना गर्न सक्ने उल्लेख छ । सो मूल्यको ३० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रूपमा लिँदा हुने पनि उल्लेख छ । यसअघि, १८० दिनको औसत मूल्य अन्तिम बजार मूल्यमध्ये कम मूल्यको ५० प्रतिशत प्रारम्भिक मार्जिन लिनुपर्ने व्यवस्था रहेके थियो ।

मार्जिन कारोबार सुविधाका लागि सम्भार मार्जिन ४० प्रतिशतबाट घटाएर २० प्रतिशत बनाइएको छ । स्टक ब्रोकरले बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यको आधारमा न्यूनतम ४० प्रतिशत वास्तविक मार्जिन कायम गर्ने व्यवस्थालाई घटाएर २० प्रतिशत बनाएको पनि उल्लेख छ ।

मार्जिन खाताको वास्तविक मार्जिन ४० प्रतिशतभन्दा कम भएमा मार्जिन कल गर्ने व्यवस्थालाई संशोधन गरेर २० प्रतिशत भन्दा कम भएमा कल गर्न सक्ने व्यवस्था गरिएको छ ।

मार्जिन खातामा रहेको कम्पनीको सेयर कारोबार मर्जर, एक्युजिसन वा अरू कुनै कारणले बन्द भएमा उक्त कम्पनी समावेश भएको समूहगत परिसूचक २० प्रतिशतभन्दा धेरैले घटेमा सम्बन्धित लगानीकर्तालाई ७ दिनको समय दिएर उक्त धितोपत्रबापतको मार्जिन ऋण तथा सोसँग सम्बन्धित अरू दायित्व चुक्ता गर्न सूचित गर्न सक्ने व्यवस्थालाई संशोधन गर्दै १५ प्रतिशतले घटेमा नै सूचना दिन सक्ने व्यवस्था गरिएको छ ।

ब्रोकरले बजारको निहित जोखिमलाई मध्यनजर गर्दै लगानीकर्तालाई मार्जिन कारोबार सुविधा प्रदान गर्दा कुनै एक धितोपत्रमा मार्जिन सीमाको १० प्रतिशतको नबढ्ने गरी उपलब्ध गराउने सक्ने व्यवस्था संशोधन गर्दै अब कुल मार्जिन सीमाबाट एउटा मात्रै धितोपत्र खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

०७५ मा कार्यविधि बने पनि संशोधनबिना मार्जिन कारोबार गर्न नसकिने भन्दै यसको कार्यान्वयन हुन सकेको थिएन । सञ्चालनमा रहेका ५० मध्ये २२ ब्रोकर कम्पनीले मार्जिन कारोबारका लागि अनुमति लिइसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय