काठमाडौं । विद्युतीय गाडी बिवाइडीले पहिलोपटक ‘सेल्फ ड्राइभ’ अवधारणा ल्याएको छ । बिवाइडी गाडीको आधिकारिक बिक्रेता सिमेक्स इन्क प्रालिले स्पार्क ग्रुपअन्तर्गतको सेल्फ ड्राइभ प्रालिलाई ५० वटा इ-सिक्स विद्युतीय गाडी बिक्री गरेको सिमेक्सका प्रमुख कार्यकारी अधिृकत शाहिल श्रेष्ठले बताउनुभयो ।
सिमेक्सले फ्लिट अपरेसनका लागि दक्षिण एसियामा सबैभन्दा ठूलो विद्युतीय गाडी प्रदान गरिएको जनाएको हो । श्रेष्ठले काठमाडौंमा वातावरणमा प्रदूषण बढिरहेको अवस्थामा बिवाइडीका विद्युतीय गाडीको प्रयोगले प्रदूषणरहित वातावरण निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
बजारमा ल्याइएका दुई गाडीमध्ये एकपटक फुल चार्ज गरे एउटाले पाँच सय २२ र अर्कोले चार सय किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । बिवाइडीका गाडीमा संसारको सबैभन्दा सेफ ब्याट्री प्रयोग गरिएको बताइएको छ ।
स्पार्क अटो केयर रहेको स्थानमा नै बिवाइडीको स्टेट अफ आर्ट सर्भिस एन्ड ट्रेनिङ सेन्टर पनि सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । गाडीहरूमा बिवाइडी आफंै उत्पादन गर्ने बिवाइडी ब्लेड ब्याट्री प्रयोग गर्ने गरेकाले रिप्लेसमेन्ट ग्यारेन्टी आठ वर्षको हुने र त्यसपछि पनि ब्याट्री क्यापेसिटी ६० प्रतिशत हुने बताइएको छ ।
सेल्फ ड्राइभका प्रमुख कार्यकारी अधिकृत रोशन पोखरेलले भन्नुभयो, ‘गाडी फास्ट चार्जमा ४५ मिनेटमा फुल चार्ज हुन्छ तर घरमा चार्ज गर्दा छदेखि सात घण्टा लाग्छ ।’ पहिलो चरणमा ‘सेल्फ ड्राइभ’ को अवधारणाअन्तर्गत बिवाइडीका विद्युतीय गाडी प्रिमियम रेन्जमा ल्याइएको स्पार्क अटो केयरले जनाएको छ ।