काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकिङ प्रणालीबाट एक जना लगानीकर्ताले अधिकतम १२ करोड रुपैयाँ मात्र सेयर कर्जा लिन पाउने सीमा तोकिएको छ । साथै, एउटा बैंकबाट अधिकतम ४ करोड मात्र सेयर कर्जा लिन पाइन्छ । यसबाट लगानीकर्ताको कर्जा लिन पाउने मौलिक हकमाथि बन्देज लागेको छ । लगानीकर्तालाई यस व्यवस्थाले निरुत्साहित पनि बनायो ।
आम लगानीकर्तालाई प्रत्यक्षरुपमा कस्ने यस नीतिका कारण एकातिर सेयर बजार घट्दै गएको छ भने अर्कोतिर वित्तीय संस्थाको सेयर धितो कर्जा प्रवाहमा पनि महिनैपच्छे गिरावट हुँदै आएको छ । ३२ सयको उच्चतम रेकर्ड कायम गरेको बजार लगातार ह्रास हुनुमा यही नीति प्रमुख कारण बनेको छ । यही प्रावधानपछि नै सेयर बजारको वृद्धिक्रममा ब्रेक लागेको हो । यसबाट आम लगानीकर्ताको मनोवल पनि घट्दै गएको विश्लेषण हुन थालेको छ ।
४–१२ को नीति पुनरावलोकन गर्न ठूला लगानीकर्ताहरुले पटकपटक माग गर्दै आएका छन् । तर केन्द्रीय बैंकले अहिलेसम्म यसमा सुनुवाई गरेको छैन । उक्त नीति ल्याएका गभर्नर महाप्रसाद अधिकारी अहिले निलम्बनमा छन् । उनी निलम्बित भएसँगै उक्त नीति परिवर्तन हुन्छ की भन्दै लगानीकर्ताहरु केही उत्साहित बनेको अवस्था पनि छ । तथापि, सेयर बजार घट्नेक्रम भने रोकिएको छैन ।
यही नीतिका कारण सेयर बजार घट्नमात्र थालेको होइन, यसै बेलादेखि सेयर बजार तरलता समस्या पनि विकराल बन्न सुरु गरेको हो । ४–१२ को नीतिकै कारण पुँजी पनि पलायन भएको ठूला लगानीकर्ताहरुको आरोप रहेको छ । पुँजी बजार विस्तार हुन दिँदा आन्तरिक बजारमै पैसा परिचालन हुने र त्यसले तरलता अवस्था पनि सहज पार्ने ठूला लगानीकर्ता र विश्लेषकहरुको पनि भनाई रहँदै आएको छ । आन्तरिक बजारमा पुँजी परिचालन हुन नपाएकाले पैसा पलायन भएको विश्लेषणहरु भइरहेका छन् ।
सेयर बजार अति संवेदनशील क्षेत्र भएकाले यसलाई साना–साना कुराले पनि तरंगित गर्दछ । त्यसैकारण सेयर बजारसम्बन्धी नीति नियममा निकै छिटोछिटो परिवर्तन गरिरहुनु हुँदैन । बजार र लगानीलाई प्रत्यक्ष असर पार्ने नीतिनियम ल्याउँदा पर्याप्त गृहकार्य गर्न र सकेसम्म नीतिगत स्थिरता कायम गर्न पनि विज्ञहरुले बारम्बार सुझाव दिंदै आएका छन् । तर नियामकहरुले यस्ता विषयमा खासै चासो राख्ने गरेका छैनन् ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार १ महिनामा सेयर धितो कर्जा २ अर्ब ८२ करोड रुपैयाँले घटेको छ । फागुन महिनासम्ममा वित्तीय संस्थाहरुले ९५ अर्ब ८० करोड २२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यसअघि माघ मसान्तसम्ममा ९८ अर्ब ६२ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक गरिएको थियो । गत असार मसान्तको तुलनामा फागुनमा सेयर धितो कर्जा प्रवाह ९.९% ले घटेको हो ।
असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका थिए । १२ करोड रुपैयाँभन्दा माथिका सेयर धितो कर्जा नवीकरण गर्न नपाइने व्यवस्था भएकाले यो तथ्यांक केही घटेको हो । यस्ता कर्जाको म्याद पूरा भएका र नवीकरणमा समस्या हुदा सामान्य गिरावट आएको अनुमान गरिएको छ ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार १ करोडभन्दा माथिको सेयर धितो कर्जा तुलनात्मकरुपमा अलि धेरै घटेको छ भने ५० लाखभन्दा माथिको कर्जा सामान्य हिसाबले मात्र घटेको छ । ५० लाख रुपैयाँभन्दा कमको सेयर धितो कर्जा अनुपात गत आर्थिक वर्षको तुलनामा अझै बढेको छ । असार मसान्तमा १ करोड रुपैयाँभन्दा माथि ७३ अर्ब ५३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएकोमा माघ मसान्तसम्म आइपुग्दा १८.७% ले घटेर ५९ अर्ब ७८ करोड रुपैयाँ देखिएको छ ।