२०८१ चैत्र ४ सोमबार

काठमाडाैं । एनएमबी बैंकले शनिवार नवौं हेरिटेज वाक कार्यक्रम गरेको छ । एनएमबी भवन, एनएमबी बैंक, बबरमहलबाट शुरू भई वसन्तपुर डबलीसम्म पुगेर समापन गरिएको थियो ।

यो हेरिटेज वाक कोभिड–१९ महामारीको २ वर्षपछि आयोजना गरिएको हो । सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा गरेको सो कार्यक्रममा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरु, युनेस्कोका सदस्य तथा सर्वसाधारणहरू गरी झण्डै ५०० जनाको सहभागिता थियो ।

कार्यक्रममा नेपाल हेरिटेज सोसाइटी तथा स्थानीय सिन्हा स्वान खलालाई डस्टबिनहरू पनि हस्तान्तरण गरिएको थियो । सोही प्रकारको कार्यक्रम ६ वटा प्रदेशमा समेत गरिएको थियो ।

प्रदेश १ मा विराटनगर शाखादेखि पिण्डेश्वरी मन्दिर, मधेश प्रदेशमा वीरगञ्ज शाखादेखि गहवा माई मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखि भद्रकाली मन्दिर, लुम्बिनीमा ट्राफिक चोक शाखादेखि जीतगढी किल्ला र सुदूरपश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मन्दिरहरू सरसफाइ गरेको छ ।

उक्त हेरिटेज वाकमा सहभागीले ‘सांस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो सांस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु, सांस्कृतिक सम्पदा संरक्षण भावी सन्ततिको लागि मार्गदर्शन, अतिथिको सम्मानार्थ सांस्कृतिक सम्पदाको जगेर्ना’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

कार्यक्रममा नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य तथा पुरातत्वविद् प्रकाश दर्नाल, युनेस्कोको कन्ट्री डाइरेक्टर माइकल क्रोफ्टलगायतले सम्पदा संरक्षणको महत्त्वबारे जानकारी दिएका थिए ।

एनएमबी बैंकका सञ्चालक समिति सदस्य उत्तम भ्लोनले स्वागत मन्तव्य दिएका थिए । साथै एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सांस्कृतिक सम्पदा राष्ट्रको गौरव भएको र यसलाई संरक्षण गर्न हातेमालो गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय