काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाह एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत चोभारको दुईसय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको हो । उद्घाटनसँगै चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको छ ।
वीरगन्जबाट आएको मालबाहक ट्रकलाई प्रवेश गराएर बन्दरगाह सञ्चालनको आरम्भ गरिएको छ । अब व्यवसायीले आयात गरेका वस्तु बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने भएका छन् ।
विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा निर्माण भएको आयोजना २०७५ जेठमा ठेक्का सम्झौता भएको थियो । बन्दरगाह उदघाटन गर्दै प्रधानमन्त्री देउवाले वैदेशिक व्यापारलाई प्रतिस्पर्धी र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।
सीमास्थित भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी अब सिधै चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गर्न सकिनेछ । सीमाबाट बन्दरगाह भन्सारसम्म महानिर्देशकले तोके बमोजिमको सडक मार्गबाट सामान लैजान आन्तरिक परिवहनको सुविधा दिइनेछ ।
सुविधा लिन चाहने पैठारीकर्ताले प्रणालीबाटै फारम मुद्रण गरी सीमास्थित भन्सार कार्यालयका अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।बन्दरगाह नहुँदा सडक–सडकबाटै भन्सार जाँचपास हुने गरेको थियो । अब मालवाहक सबै सवारीसाधन बन्दरगाहभित्र आउँछन्, दर्ता गर्छन्, पार्किङमा जान्छन्, आवश्यक परे तिनले गोदामसमेत प्रयोग गर्छन् ।
भन्सार प्रक्रिया सुरु हुन्छ, सामानको जाँचपास हुन्छ । भन्सार ुक्लियरु भएपछि मालवाहक गाडी बन्दरगाह परिसरबाट बाहिर निस्कन्छन् । भन्सार प्रयोजनका लागि सुव्यवस्थित हिसाबले प्रक्रिया पूरा गर्न बन्दरगाह निर्माण गरिएको हो ।