
काठमाडौं । कोरोनाका कारण प्रभावित भएको होटेल व्यवसाय क्रमिक सुधारोन्मुख देखिन थालेको छ । उपत्यकाका साथै बाहिरका पर्यटकीय गन्तव्यहरूका होटेलहरूको अकुपेन्सीमा सुधार देखिन थालेको होटेल व्यवसायीहरूले बताएका छन् । कोरोना तथा ओमिक्रोनको समयमा सरदर ५ प्रतिशतमा झरेको होटेल अकुपेन्सी अहिले ३५ प्रतिशतसम्म पुगेको छ । होटेल एशोसिएशन नेपालकी अध्यक्ष सिर्जना राणाले विगतको तुलनामा सुधार देखिएको बताइन् ।
अहिले आन्तरिक पर्यटक र भारतीय पर्यटकका कारण होटेल क्षेत्र चलायमान बनेको उनको भनाइ छ । ‘युक्रेन–रसिया युद्धका कारण यूरोपेली पर्यटक आगमनमा असहज अवस्था देखिएको छ,’ राणाले भनिन्, ‘त्यस कारण पनि नेपालले आन्तरिक र नजिकका पर्यटकीय बजारलाई लक्षित गरेर रणनीति बनाउनुपर्छ ।’ नेपालले गन्तव्य पहिचान र त्यसको मार्केटिङलाई बढी प्राथमिकतामा राख्नुपर्ने उनले बताइन् ।
अहिले भारतीय पर्यटक नै बढी आएकाले सीमावर्ती क्षेत्रमा नमस्ते डेक्स स्थापना गरेर उनीहरूलाई राम्रो वातावरण दिन तालीम आवश्यक रहेको राणाले बताइन् । काठमाडौं प्रिन्स होटेलका कार्यकारी निर्देशक तथा हानका महासचिव साजन शाक्यले औसतमा होटेलहरूको अकुपेन्सी बढेको जानकारी दिए ।
सन् २०२१ को अन्तिम महीना र सन् २०२२ को शुरू महीना जनवरीको तुलनामा फेब्रुअरी र मार्चकै यो अवधिसम्ममा होटेलहरूको व्यवसायमा सुधार देखिएको उनले बताए । ‘मार्च र अप्रिल पनि पर्यटकीय सिजन हुन्,’ शाक्यले भने, ‘यो सिजनमा ट्रेकिङका लागि आउने पर्यटकको संख्या बढ्दो क्रममा रहेकाले होटलहरूको व्यवसायमा सुधार हुने देखिन्छ, यद्यपि जति पर्यटक आउने हो, त्यो संख्यामा भने आएका छैनन् ।’
कोरोनाकै अवधिभन्दा सन् २०२२ को फेब्रुअरीमा पर्यटक आगमनमा दोब्बरको वृद्धि छ । नेपाल पर्यटन बोर्डका अनुसार ३३ मुलुकबाट जनवरी र फेब्रुअरी गरी २ महीनामा कुल ३६ हजार ७४१ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।