काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ। प्राधिकरणले त्यस्ता क्रियाकलापहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन गर्न आइएसपीहरुलाई ताकेता गरेको हो।
अर्थमन्त्रीस्तरीय निर्णय गर्दै सरकारले यसअघि नै भर्चुअल माध्यमबाट हुने आर्थिक कारोबारमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सोही निर्णयलाई संचार मन्त्रालयले फागुन १ गते प्राधिकरणलाई पठाउँदै अनलाइन प्रविधिमार्फत् हुने क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ तथा अनलाइन जुवालगायतका क्रियाकलाप रोक्न आवश्यक कदम चाल्न पत्र काटेको थियो। सोही पत्रलाई आधार बनाउँदै प्राधिकरणले आइएसपीहरुलाई त्यस्ता गतिविधि माथि प्रतिबन्ध लगाउन निर्देशन जारी गरेको हो।
क्रिप्टोकोे अवैध कारोबार : नौ करोड ७४ लाख हिनामिना
मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र विनिता लिम्बूविरुद्ध ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले नेपालमा प्रतिबन्धित वानएक्सवेट, विनाश, एड्भी क्यास, क्वाइनबेस र प्याक्फुल जस्ता माध्यमको प्रयोग गरी सामूहिक मिलेमतोमा अमेरिकी डलरको गैरकानुनी कारोबार गरेको पाइएको छ । विभागका अनुसार आरोपितले विभिन्न एप तथा गैरकानुनी माध्यममार्फत रकम राख्ने वा पठाउने गरेको पाइएको छ ।
उनीहरुले अमेरिकी डलरको सटही तथा क्रिप्टोमा लगानीकर्ताको रुपमा रहेको अनुसन्धानबाट खुलेको छ । आरोपी श्रेष्ठले मेगा बैंकबाट रु ८६ लाख ८३ हजार ४२९, सिटिजन बैंकबाट रु दुई करोड ५१ लाख ७६ हजार ९९, एनआइसि एशिया बैंकबाट रु एक करोड ८२ लाख ४९ हजार ८८९ र राष्ट्रिय वाणिज्य बैंकबाट रु दुई करोड ३६ लाख ६२ हजार ५३९ गरी कूल रु सात करोड ५७ लाख ७१ हजार ९५८ बराबरको रकम हिनामिना गरेको पाइएको छ ।
यस्तै, आरोपी लिम्बूले एनआइसि एशिया बैंकबाट रु दुई करोड १६ लाख ९८ हजार २४ बराबरको रकम हिनामिना गरेको देखिन्छ । विभागले कूल रु नौ करोड ७४ लाख ६९ हजार ९८३ बराबरको विदेशी विनिमयको अपचलन गरेको अध्ययनमा पत्ता लगाएको छ ।
विभागले आरोपीलाई बिगो जफत गरी सजाय र तीन वर्षसम्मको कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ । नेपाल राष्ट्र बैंकले २०७४ साउन २९, २०७५ चैत २६ र २०७८ भदौ २४ गते अवैध रुपमा विदेशी विनिमयको अवैध कारोबार नगर्न निर्देशन दिएको छ । यस्तै, नेपालमा गैरकानुनी रहेको क्रिप्टोकरेन्सीको कारोबार नगर्न समेत पटक–पटक केन्द्रीय बैंकले निर्देशन दिएको छ ।