काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीका कारण विश्व पर्यटन बजार प्रभावित बन्यो । पछिल्ला दिनमा कोभिड महामारीको सन्त्रास कम बन्दै गएपछि नेपालमा आउने विदेशी पर्यटकको संख्यामा सुधार आउने अपेक्षा पर्यटन व्यवसायीहरुमा थियो । तर, अपेक्षाकृत रुपमा पर्यटक आउने वातावरण नै सरकारले बनाउन नसकेको गुनासो व्यवसायीहरुले गरेका छन् ।
विशेषगरी झन्झटिलो प्रोटोकलका कारण पनि पर्यटकलाई आकर्षित गर्न नसकेको भनाई व्यवसायीहरुको छ । साँच्चै पर्यटक ल्याउने हो भने प्रोटोकलमा सुधार आवश्यक रहेको उनीहरुको भनाई छ ।
टान अध्यक्ष खुमबहादुर सुवेदी विदेशी पर्यटकलाई आकर्षित गर्न पीसीआर परीक्षणलगायतका व्यवस्था हटाउनुपर्ने बताउँछन् । “साच्चिकै देशले विदेशी पर्यटकको चाहेको हो भने हालको प्रोटोकल हटाउनुपर्छ । जहाँबाट आउँछन् आउँछन्, भिसा दिने त्यसपछि सोझै घुम्न दिने गर्नुपर्छ,” उनले भने ।
विदेशी आउँदा जस्तो प्रक्रिया कोरोना अगाडि थियो त्यस्तै व्यवस्था लागू गरिनुपर्ने उनको भनाई छ । “यस्तो व्यवस्था गर्ने हो भने विदेशी पयर्टक आउँछन् । सबै किसिमका पर्यटकलाई सहज रुपमा आउने/घुम्न दिने गर्नुपर्छ,” उनले भने ।
यता, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी नेपालमा विदेशी पर्यटकलाई अराइभलमा सहज वातावरण बनाउनुपर्ने बताउँछन् । अराइभलमा सहज बनाउने हो भने त्यसले अन्तर्राष्ट्रिय बजारमा राम्रो सन्देश दिने उनको भनाई छ ।
“अहिले विश्वको एउटै समस्या हो, सबै देशलाई पैसा चाहिएको छ । सबै देशले आ–आफ्नो मुलुकमा पर्यटक आकर्षित गर्न चाहन्छन् । यस्तो प्रतिस्पर्धाको बेलामा पर्यटकलाई आउन सरल व्यवस्था गराइदिनुपर्छ,” उनले भने, “अहिले जति सजिलो प्रोटोकल भयो, त्यति धेरै पर्यटक निस्किन्छन् । त्यो म्यासेज नेपाल आउने पर्यटकको सामाजिक सञ्जालबाट जान्छ । त्यसैले नै हाम्रो राम्रो प्रचार हुन्छ र पर्यटक आउँछन् ।”
अहिले विदेशबाट आउँदा विमान कम्पनीहरुले नै कोरोनाविरुद्धको खोप नलगाएको, पीसीआर रिपोर्ट नभएकालाई यात्रा गर्न दिँदैनन् । विमान कम्पनीहरुले हेरेको उही कागजपत्र नेपालमा आइसकेपछि फेरि लामो लाइन लगाएर हेर्नुपर्ने कारण नै नभएको रेग्मी बताउँछन् । “विदेशी पर्यटक देशले खोजेको हो भने अहिले भएका प्रोटोकल नै हटाउनुपर्छ,” उनले भने ।
यद्यपी उनले यस्ता कागजपत्र देखाउने नै हो भने अध्यागमन डेस्कमा मात्रै देखाए पुग्ने गरिनुपर्ने बताए । अहिले एयरपोर्टमा कर्मचारी, प्रहरीले हेर्नेसमेत यस्ता कागजपत्र हेर्न खोजिरहेका हुन्छन् ।
“अध्यागमनबाट बाहिर निश्किसकेपछि पनि प्रहरीले कागजपत्र देखाउन भन्छन् । अध्यागमनका कर्मचारीहरुले कागजपत्र हेरेर भिसा दिइसकेपछि फेरि प्रहरीले किन कागजपत्र हेर्नुपर्यो ?,” उनले भने ।
उनले विदेशीलाई सकारात्मक सन्देश दिन विमानस्थल कार्यालयमा हुने कर्मचारीहरुको व्यवहारमा सुधार्न आवश्यक भएको पनि बताए । “कर्मचारीहरुको व्यवहार पर्यटकलाई दुःख दिने खालको हुनुभएन । कर्मचारीहरु अलिकति प्रशिक्षित हुनुपर्यो,” उनले भने ।
उनले अध्यागमन भएका १८ वटा डेस्कमै अनिवार्य कर्मचारी हुनुपर्ने पनि बताए “५/६ वटा डेक्समा मात्रै कर्मचारीहरु हुन्छन् । कम कर्मचारी हुँदा लामो लाइन हुन्छ । त्यसले सकारात्मक सन्देश जाँदैन । १८ वटै डेक्समा अध्यागमनका कर्मचारी हुनुपर्छ । सबै डेस्कमा अनिवार्य कर्मचारी उपस्थित गराइयो भने यात्रुलाई सहज पनि हुन्छ र राम्रो सन्देश पनि जान्छ ।”
उनले अहिलेको असहज परिस्थितमा विदेशी पर्यटक भित्र्याउन एक वर्षको लागि भिसा शूल्क फ्री गरिदिनुपर्ने पनि बताए । हवाई मार्गबाट नेपालमा आउँदा पासपोर्टसँगै खोप लगाएको प्रमाणपत्र, कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट, होटेल बुकिङ्ग र सीसीएमसीको फर्म भरेको हुनुपर्छ । यी कागजपत्र विमानमा चढ्नु अगाडि नै सम्बन्धित विमान कम्पनीहरुले हेर्ने गर्छन् ।
यसैगरी स्थलमार्गबाट नेपाल आउँदा पोसपोर्ट वा भोटर आइडी, पीसीआर रिपोर्ट र सीसीएमसीको फर्म भरेको हुनुपर्छ । अन्य धेरै मुलुकहरुले प्रवेश गरिसकेपछि पीसीआर अनिवार्य व्यवस्था हटाएको भए पनि नेपालले जारी राखेका कारण पनि पर्यटकले झन्झटिलो मानेको व्यवसायी बताउँछन् ।