काठमाडौं । नेपाल आयाल निगमले भारतीय आयल कर्पोरेसनलाई पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन सरकारसँग पुनः रकम माग गरेको छ । यहि फागुन २४ मा भारतीय आयल कर्पोरेसनलाई बुझाउनु पर्ने इन्धन खरिदको २५ अर्ब रुपैयाँका जोहो गर्न रकम अभाव भएपछि ४ अर्ब रुपैयाँ रकम जुटाइ दिन निगमले सरकारसँग माग गरेको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार ८ र २३ मार्चमा गरी दुई किस्तामा आईओसीलाई झण्डै २५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ । निगमले एक महिनाको अवधिमा दोस्रो पटक थप रकम मागेको हो । पेट्रोलियम खरिदको भुक्तानी गर्न रकम नपुगेपछि मूल्य स्थिरीकरण कोषबाट रकम जुटाइ दिन मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ ।