
काठमाडौं । क्रेटिङ मार्केट्स फर नेपाल्स हाइड्रोपावर अर्थात् नेपालको जलविद्युत्को बजारीकरण भन्ने नाराका साथ चैतमा हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना हुने भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा चैत १८ देखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो हुने आयोजकले राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
नेपालस्थित भारतीय दूतावासको समन्वय तथा बेलायती दूतावास र क्यानेडियन हाइकमिसन कन्ट्री पार्टनर रहने गरी एक्स्पो आयोजना हुने बताइएको छ । भारतीय राजदूतावासको समन्वयमा एक्स्पो हुँदा नेपाल र भारतका ऊर्जासम्बद्ध व्यक्ति तथा संस्थाबीचको पारस्परिक सहकार्यमा समेत सहजता आउने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो । जलविद्युत्को बजार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको अवसर पनि एक्स्पोले उजागर गर्ने उहाँको भनाइ छ ।
नेपालमा जलविद्युत् तथा ऊर्जा क्षेत्रमा अभूतपूर्व क्रियाकलापसँगै ऊर्जा उत्पादनको वर्तमान अवस्थालाई थप तीव्रता दिने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यमा टेवा पु¥याउनेलगायतका उद्देश्यसहित आयोजना हुने एक्स्पो ऊर्जा क्षेत्रका लागि कोशेढुंगा साबित हुने आयोजकको दाबी छ ।
आयोजकका अनुसार जलविद्युत्सम्बन्धी अन्तर्राष्ट्रियस्तरको पछिल्लो प्रविधिबारेमा जानकारी गराउने, सोेसम्बन्धीका सरोकारलाई एकै छानामुनि भेला पार्ने तथा विभिन्न मुलुकसँग जलविद्युत् विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको हो ।
एक्स्पोमा सयभन्दा बढी स्टल रहनेछन् । जलविद्युत् प्रवद्र्धक, उत्पादक, इक्वेपमेन्ट्स सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टलका साथै करिब ५० प्रतिशत विदेशी स्टल रहने बताइएको छ ।
एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रोपावरको लाइभ डेमोन्स्ट्रेसन विशेष आकर्षण रहनेछन् । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिसन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटका साथै टनेल चेकिङ र इन्स्पेक्सन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटको प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै विद्युतीय सवारीसाधनको ¥याली पनि विशेष आकर्षणका रूपमा रहने इपानका उपाध्यक्ष आशिष गर्गले बताउनुभयो । एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकप्टरमार्फत् जलविद्युत् आयोजनाहरूको भ्रमण गराउने व्यवस्थाका साथै भर्चुअल रियालिटी टुरको व्यवस्था पनि गरिएको एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताउनुभयो ।