दुबै कानमा तलदेखि माथिसम्म बाइसवटा सुनका मुन्द्रा, । एउटा हातका सबै औलामा शिवलिंग अंकित चाँदीका औंठी र अर्को हातका सबै औंलामा सुनका थरीथरीका औंठी । हातमा ब्रासलेट, गलामा सिक्री, चिउँडो र आँखामाथि समेत टप । लट्टेदार लामो कपाल अनि खाइलाग्दो शरिर । झट्ट हेर्दा कुनै हिन्दी फिल्मको भिलेनभन्दा कम देखिँदैनन् ४० वर्षीय सुवास घिसिङ । बौद्ध–जोरपाटीतिर, ‘बाइसमुन्द्रे’को उपनामले चिनिन्छन् उनी । बलिउड अभिनेता अमरेस पुरीको खलनायकी भूमिकाबाट प्रभावित भएको बताउने सुवास आफ्ना यस्तो ‘गेटअप’ छुट्टै पहिचान बनाउने बाल्यकालदेखिकै शौख भन्छन् । भनिन्छ, मानिसको लवाई–खवाई र भेषभूषाले उसको व्यक्तित्व झल्काउँछ । तर यो मान्यताभन्दा फरक पहिचानका छन् सुवास । ‘गेटअप’ जे–जस्तो भएपनि व्यवहार र कामले खारिएका छन् उनी । प्रत्येक मान्छेको सफलताका पछाडि आ–आफ्नै किसिमका संघर्षका कथाहरू हुन्छन् । त्यस्तै संघर्षपूर्ण पृष्ठभूमि बोकेका एक सफल व्यवसायी हुन् सुवास ।
फोहोरमैला व्यवस्थापन जस्तो सामाजिक कार्यमा लागेका सुवासको व्यवहारले कानमा मुद्रा र लामो कपाल हुँदैमा कुनै पनि मान्छे खराब हुँदैन भन्ने स्पष्ट सन्देश दिइरहेको पाइन्छ । सुवास घिसिङको जन्मथलो धनकुटा जिल्ला हो । बाल्यकाल गाउँमै बिताएका उनले २०५१ सालमा काठमाडौं छिरेपछि फोहोरमैला व्यवस्थापनको काममा हात हाले र अहिलेसम्म त्यही व्यवसायमा सक्रिय छन् । हाल उनी अध्यक्ष रहेको मिलिजुली वातवारण नेपाल नामक कम्पनीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ र ६ (साविकको जोरपाटी, नयाँबस्ती एरिया) अनि काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ भित्र पर्ने क्षेत्रमा फोहोरमैला व्यवस्थापनको काम गरिरहेको छ । फोहोरमैला व्यवस्थापनको कामका अतिरिक्त उनी कलाकारितामा पनि संलग्न छन् । ठूलो पर्दाका ६/७ वटा चलचित्रमा उनले खलनायकको भूमिका निभाएका छन् भने केही म्युजिक भिडियोहरूमा समेत अभिनय गरेका छन् । फोहोरमैला व्यवस्थापनको काममै व्यस्त अवस्थामा भेटिएका सुवाससँगको छोटो कुराकानी :
फोहोरमैला व्यवस्थापनको काममा कसरी लाग्नुभयो ?
म २०५१ सालमा काठमाडौं आएँ, त्यसबेला काठमाण्डौमा चिनेको कोही थिएन । चिनजानको कोही नभएपछि काम पाउन धेरै गा¥हो भयो । जे–जस्तो काम पाइयो त्यही गर्दै बसियो केही समय । यत्तिकैमा बौद्धमा कोठा सरें । बौद्ध आएपछि स्थानीय राधाकृष्ण टोल सुधार समितिका अध्यक्ष शिवहरि पोखरेलसँग भेट भयो, अनि उहाँकै सहयोग र सल्लाह बमोजिम घर–घरबाट फोहोरमैला उठाउने काम थालें । एउटा ठेलागाडा लिएर आफैं सिठी फुक्दै घर–घरमा जान्थें र फोहोर उठाउँथें । सुरुमा ७० घरबाट फोहोर उठाउन थालेको हुँ । पछि मैले आफ्नो कामलाई क्रमशः संस्थागत रुप दिएँ । अहिले हाम्रो मिलिजुली वातावारण नेपाल नामक कम्पनीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ र ६ (साविकको जोरपाटी, नयाँबस्ती एरिया) अनि काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ समेत गरी करिब २२ सय घरको फोहोरमैला व्यवस्थापन कार्य गरिरहेको छ ।
‘घर–बस्तीबाट फोहोर उठाइसकेपछि त्यसलाई सुवास घिसिङले अमेरिका पुर्याओस् कि जापान पुर्याओस्, हामीलाई केही मतलव छैन भन्ने खालको सोच कतिपय स्थानीय बासिन्दाहरुमा रहेको पाइन्छ । तर उहाँहरुले बुझ्नु पर्छ कि, फोहोरमैला सबैको साझा समस्या हो । यो राज्यकै समस्या हो । त्यसैले यसको व्यवस्थापनमा स्थानीय समुदायको ठूलो साथ र सहयोग आवश्यक पर्दछ । जुन मैले पनि अपेक्षा गरिरहेको हुन्छु ।’
फोहोरमैला उठाएवापत घर–बस्तीबाट शुल्कचाहिँ कति लिनुहुन्छ ?
इन्धनको मूल्य, मजदुरको पारिश्रमिक सबै कुरामा महंगी बढ्दै गएपछि फोहोरमैला संकलनको शुल्क पनि समय सापेक्ष बढ्दै गएको छ । नगरपालिकाले तोकेको मापदण्डभित्र रहेर शुल्क लिने गरिएको छ । घरको जनसंख्या हेरेर शुल्क लिइन्छ । त्यसबाहेक स्कूल, कलकारखाना, होटल, कोल्ड स्टोरहरुको छुट्टै दररेट छ । तिनीहरुको प्रत्येक दिन फोहोर उठाउनु पर्छ भने अन्य घरमा चाहिँ हप्ताको एकपटक उठाउने गरिएको छ ।
तपाइँको कम्पनीमा कतिले रोजगारी पाएका छन् ?
१५/१६ जना छन् । जे होस् एउटा सानोतिनो उद्योगजस्तै छ मेरो यो व्ययसाय । सुरुमा एउटा ठेलागाडा लिएर फोहोरमैला संकलनको कार्य थालेको हुँ, अहिले टिपरसहित ६/७ वटा आफ्नै सवारी साधन छन् । तिनै साधनबाट फोहोरमैला संकलन गरेर सोझै ओखरपौवा ल्याण्डफिल्ड साइटमा पुर्याउने गरिएको छ ।
फोहोरमैला व्यवस्थापनको कामका सिलसिलामा तपाइँले भोग्नुपरेका समस्याहरू के–के छन् ?
कामको दौरानमा अनेकखाले समस्याहरू आइपर्छन् । फेस गर्न सकिनेसम्मका समस्याहरूसँग जुध्दै अघि बढिरहेको छु । नगरपालिका, वडा कार्यालय, प्रहरी प्रशासन र स्थानीय बासिन्दाहरुबाट अपेक्षा गरेजति साथ र सहयोग पाएको छैन । आफ्नै लगानी हो, परिश्रम आफ्नै हो । ३६ प्रतिशतसम्म व्याज तिर्नेगरी व्यक्तिहरुबाट ऋण लिएर सवारी साधन जुटाएको छु । यस्तो दुःखले काम गर्दा पनि जस पाइँदैन । टोल बस्तीबाट संकलत फोहोरमैलालाई डम्पिङ साइटसम्म पुर्याउने बाटोको हालत नाजूक छ । कमसे कम बाटो त राम्रो बन्नु पर्यो नि ? अर्कोकुरा, सानो गाडीले टोलबाट फोहोर संकलन गरेर ल्याएपछि डम्पिङ साइटमा लैजान ठूलो गाडीमा खन्याउनु पर्ने हुन्छ । तर त्यस्तो ठाउँको व्यवस्था नभएको हुँदा संकलित फोहोर ठूलो गाडीमा खन्याउने क्रममा स्थानीय बासिन्दाहरू र प्रशासनबाट हामीले बारम्बार गाली खानु परिरहेको छ । त्यस्तै, ल्यान्डफिल्ड साइटतिरबाट पनि हामीलाई बारम्बार पत्र आउँछ– यो गरिदिनु पर्यो, त्यो गरिदिनु पर्यो भनेर । बाटो पिच गरिदिनु पर्यो, एकघर एक रोजगारीको व्यवस्था गरिदिनुपर्यो आदि आदि भनेर । महानगरपालिकाले समेत गर्न नसकेका कतिपय काम गरिदिनुपर्यो भनेर पत्र आउँछ । हामीले त्यो कसरी गर्न सक्छौं ? सकेको सहयोग त गर्दै आएका छौं नि ! त्यस्तै, फोहोरमैला व्यवस्थापनको काममा जनशक्तिको समस्या ठूलो छ, यो क्षेत्रमा काम गर्ने मान्छे नै पाइँदैन । नयाँ मान्छे खोजेर ल्यायो, काम सिकाइसक्दा कामै छोडेर हिँडिहाल्छ ।
स्थानीय निकाय र जनप्रतिनिधिहरुसँग कतिको समन्वय हुने गरेको छ ?
समन्वय त राम्रै छ । तैपनि यसबारे मेरा केही गुनासाहरु छन् । टोल बस्तीबाट उठाएको फोहोर पल्टिङ गर्ने ठाउँको समस्या भएको हुनाले म त्यो कुरा लिएर म मेयरकहाँ पुगें, वडा कार्यालयमा पनि बारम्बार पुगें । तर त्यो समस्याको विषयमा सुनुवाइ हुन सकेको छैन । हामीले फोहोरमैला संकलन गर्दा अलिकति पनि फोहोर भुइँमा नखसालीकन अत्यन्त सजगतापूर्वक काम गरिरहेका हुन्छौं, तैपनि बेलाबखत अनेकखाले अवरोध र विरोधको सामना गर्नुपरिरन्छ । कहिलेकाहिँ त टोलका मान्छेहरु लाठीमुंग्रीसहित उठेर पनि आउनुहुन्छ । घर–बस्तीबाट फोहोर उठाइसकेपछि त्यसलाई सुवास घिसिङले अमेरिका पुर्याओस् कि जापान पुर्याओस्, हामीलाई केही मतलव छैन भन्ने खालको सोच कतिपय स्थानीय बासिन्दाहरुमा रहेको पाइन्छ । तर उहाँहरुले बुझ्नु पर्छ कि, फोहोरमैला सबैको साझा समस्या हो । यो राज्यकै समस्या हो । त्यसैले यसको व्यवस्थापनमा स्थानीय समुदायको ठूलो साथ र सहयोग आवश्यक पर्दछ । जुन मैले पनि अपेक्षा गरिरहेको हुन्छु ।
‘फोहोरमैला व्यवस्थापनको काममा मैले गरेको मिहेनत र लगानीलाई कतिपय स्थानीयबासीहरूले राम्रोसँग बुझ्न नसकेकोमा दुःख लाग्छ । एउटा घरको फोहोर उठाएदेखि ल्याण्डफिल्ड साइटसम्म पुर्याउँदा कयौं समस्या झेल्नुपर्छ तर कतिपयले मेरो त्यो दुःख नबुझ्दा नराम्रो लाग्छ ।’
धनकुटादेखि काठमाण्डौ आएर फोहोरमैलाको काम गर्दै यति धेरै मुन्द्रा, औंठी र सुनचाँदीका अन्य गहना जोड्नुभएको छ, संघर्षका दिनहरु सम्झिदा कस्तो लाग्छ ?
हेर्नोस्, जीवनमा संघर्ष कति गरियो भन्ने त कुरा गरेर साध्यै छैन । धेरै नै दुःख गरें मैले । पूरापूरी गाडीभाडा समेत नबोकी काठमाण्डौ छिरेको हुँ । आएर काम खोज्न कयौं ठाउँ भौंतारिनुपर्यो । ती दिनहरु फर्केर हेर्दा आफैंलाई अत्यास लाग्छ । अहिले मैले धेरै कमाएँ, सुख छ भन्ने होइन तर म आफूले गरेको प्रगतिमा सन्तुष्ट छु । आफूले गरेको दुःखको फल पाएँजस्तो लाग्छ । तर फोहोरमैला व्यवस्थापनको काममा मैले गरेको मिहेनत र लगानीलाई कतिपय स्थानीयबासीहरूले राम्रोसँग बुझ्न नसकेकोमा दुःख लाग्छ । एउटा घरको फोहोर उठाएदेखि ल्याण्डफिल्ड साइटसम्म पुर्याउँदा कयौं समस्या झेल्नुपर्छ तर कतिपयले मेरो त्यो दुःख नबुझ्दा नराम्रो लाग्छ ।
कतिपय टोलबासीहरुले ‘हिजो एउटा साइकल पनि नभएको मान्छे अहिले ६/७ वटा गाडीसहित कम्पनीको मालिक भएको छ, कार चढेर हिंड्छ, सुन लगाएर हिंड्छ त्यो सबै हाम्रै पैसाले हो’ भनेर कुरा काट्ने गरेको मैले सुनेको छु । यसभित्र मेरो कति संघर्ष, लगानी र परिश्रम छ भन्ने कुरा उहाँहरुले बुझ्नुपर्छ । २७/२८ वर्षदेखि मैले यस क्षेत्रको फोहोरमैला व्यवस्थापनमा साथ दिएको छु । स्थानीय बासिन्दाहरुलाई फोहोरमैलामुक्त वातावरण दिलाउन म यसरी लागिरहेको हुन्छु, तैपनि कतिपय मान्छे सानातिना कुराहरुलाई इस्यु बनाएर ममाथि अनेक ढंगले खनिने गरेको देख्दा दुःख लाग्छ । अर्कोकुरा, मैले सेवा दिएर पैसा लिने त हो नि ! धेरैजसो चाहिँ राम्रो काम गरेर नै आर्थिक प्रगति गर्यो भनेर प्रशंसा गर्नेहरु छन् ।