२०८२ फाल्गुन २५ सोमबार

काठमाडौं । अर्थतन्त्र संकुचन तर्फ गएको अर्थबिदहरुले बताएका छन । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको नेपाली अर्थतन्त्रमा नयाँ चुनौति र समाधानको उपाय खोजी विषयक कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन ।

नीतिगत ब्यवस्थाको कारण देशको अर्थतन्त्र अहिलेको अवस्थामा आइपुगको उनीहरुको भनाई थियो । सरकारले प्रसाशनिक खर्च बढी गर्ने तर अर्थतन्त्र चलायमान बनाउनको लागि पुँजीगत खर्च गर्न नसकेको कारण समस्या आएकोमा अर्थबिदहरुले जोड दिएका छन । कार्यक्रममा पूर्वअर्थमन्त्री डा.रामशरण महतले प्रसाशनिक खर्च बढेको तर पुँजीगत खर्च कम भएकाले अर्थतन्त्रमा समस्या देखा परेको बताए ।

उनले सरकारले पुँजीगततर्फ बजेट कम विनियोजन गरेकै कारण अहिलेको अवस्था आएको ठोकुवा गरे । महतले पछिल्लो समय भएको बजेट पनि कम खर्च हुने र खर्चको बजेट पनि सदुपयोग हुन नसक्दा रोजगारी सिर्जना हुन नसकेको जिकिर गरे ।

उनले सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रमा अहिले देखिएको तरलताको समस्या कम गर्नु पर्नेमा जोड दिएका थिए । बजेटमा प्रसाशनिक खर्च घटाउनुपर्नेमा अहिले प्रसाशनिक खर्च बढाएको उनको टिप्पणी थियो । यस्को लागि सरकारले प्रसाशनिक खर्च घटाएर पुँजीगत खर्च बढाउनु बाहेक अर्को बिकल्प नभएको उनको भनाई थियो ।

बजेट कार्यान्वयन दक्षतापूर्ण भए मात्रै आर्थिक गतिविधि वृद्धि हुने भन्दै डा महतले सरकारले दक्षजनशक्ति बढाएर प्रसाशनिक कार्य क्षमता पनि बढाउन आवश्यक भएको बताएका छन ।

त्यसैगरी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्योगमा लगानी बढाउनको लागि उद्योगको लागि निशुल्क जक्ष्ष दिनु पर्ने बताए । ठुला उद्योगमा लगानी बढाउनका लागि जग्गा उपलब्ध नगराए समस्या हुने उनको भनाई थियो ।

पाण्डेले एक अर्बको उद्योग बनाउनको लागि १० अर्ब रुपैयाँको जग्गा किनेर कसैले पनि उद्योगमा लगानी गर्न नसक्ने जिकिर गरे । सरकारले अर्थतन्त्रलाई सवल बनाउनको लागि पूर्वधार निर्माणका आयोजना घोषणा मात्रै नभएर समयमा नै निर्माण सम्पन्न गर्नु पर्ने आवश्यकता बिर्सन नहुने उनको भनाई थियो ।

पाण्डेले एक पटकमा धेरै आयोजना घोषणा गर्ने तर काम नगर्ने प्रवृतिले अर्थतन्त्रमा समस्या आएको धारणा राखे । सरकारले एकैचोटी धेरै आयोजना घोषणा गर्ने तर त्यस्को लागि बजेट बिनियोजन गर्न नसकेको कारण कुनै पनि काम पुरा हुन नसकेको उनको भनाई थियो ।

अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरलले अर्धवार्षिक समिक्षामा बजेटको आकार घटाउँदा देशको अर्थतन्त्र संकुचनतर्फ गएको बताए । उनले कोरोनाका कारण मुल्यबृद्धि दर बढ्दै गएको र भारतमा गरिएको अध्ययनले ३ महिना अझ मुल्यवृद्धि हुने देखिएको हुँदा नेपालमा महंगी दोहोरो अंकमा पुग्ने जिकिर गरे ।

कार्यक्रममा योजना आयोगका पूर्व उपाध्यक्ष डा.डिल्ली खनालले आयात बढे पनि अर्थतन्त्र माथि जान नसकेकोमा जोड दिएका थिए । उनले अहिलेको अर्थतन्त्रको अवस्था हेर्दा ४ प्रतिशत पनि आर्थिक वृद्धिदर हुन नसक्ने देखिएको जिकिर गरे ।

पछिल्लो समयमा अर्थतन्त्रमा नयाँ जटिलता थपिएकाले सरकार नयाँ ढंगले लाग्नु पर्ने बताउदै उनले भने, ‘वर्तमान सरकारले बजेट प्रतिस्थापन गर्दा टालटुले ढङगले ल्याएकाले पनि अर्थतन्त्रमा समस्या देखा परेको हो ’ ।

योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले सरकारले राजश्व उठाएर खर्च गर्न नसक्दा अर्थतन्त्रमा समस्या आएको बताएका छन ।

कोरोना महामारी तथा अस्थिर राजनीतिको कारण सरकारले खर्च गर्न नसेको उनको भनाइ थियो । डा.कँडेलले कर्मचारी प्रसाशनमा काम गर्ने प्रवृति परिर्वतन नभएसँग पुँजीगत खर्च बढाउन समस्या देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर