काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो ।
लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएको छ। सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा फागुन ११ गतेदेखि फागुन १५ गतेसम्ममा आवेदन दिन सकिनेछ ।
त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे फागुन २५ गतेसम्म म्याद थप हुनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ ।