काठमाडौं । भन्सार विभागले माघ मसान्तसम्म ७.४ अर्ब रुपैयाँबराबरको राजस्व विद्युतीय माध्यमबाट संकलन गरेको छ। सेवा सुरु भएको एक महिनामै विभागमा इ-पेमेन्टबाट उक्त संख्यामा राजस्व उठेको नेपाल क्लियरिङ हाउस लिमिटेडले जनाएको छ।
गत पुस १ देखि सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयबाट विद्युतीय माध्यमबाट भुक्तानी सुरु भएको थियो। माघ १२ मा अर्थमन्त्री जनार्दन शर्माले देशभरका भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानीको उद्घाटन गरेका थिए।
भन्सार विभागको प्रज्ञापनपत्र सम्बन्धी भुक्तानी एनसीएचएल तथा बैंक वित्तीय संस्थासँग जोडी विद्युतीय माध्यमबाट संकलनको सुरुवात भएसँगै इ-पेमेन्टमार्फत राजस्व संकलनमा उल्लेख्य वृद्धि हुँदै गएको बताइएको छ।
यसका कारण आयातकर्ताहरुलाई पनि भुक्तानी गर्न निकै सहज भएको एनसीएचएलले जनाएको छ। यसअघि विभागका सबै भुक्तानी नगद वा चेक मार्फत हुने गरेकोमा अहिले विद्युतीय माध्यमको प्रयोग बढ्दै गएको छ।
नेशनल पेमेन्ट स्वीचअन्तर्गत विभागको भुक्तानी संकलनलाई रियल टाइम तथा नन्-रियल टाईम दुवै माध्यमबाट संकलन गरिने व्यवस्था गरिएको छ। माघ मसान्तसम्म रिटेल पेमेन्ट स्वीचमार्फत रियल टाईममा ३.४ अर्ब रुपैयाँ र एनसीएचएल–आइपीएस मार्फत नन्-रियल टाइममा चार अर्ब रुपैयाँबराबर संकलन भएको एनसीएचएलले जनाएको छ।
भन्सार एजेन्ट वा आयातकर्ताले भन्सारको अनलाइन प्रणाली (एएसवाईसीयूडीए) बाट रजिष्ट्रेसन वर्ष, रजिष्ट्रेसन नम्बर, भन्सार विभागको कोड तथा प्रज्ञापनपत्र नं. प्राप्त गरी उपलब्ध कुनैपनि च्यानलमा सो विवरण भरी अनलाइन भुक्तानी गर्न सक्ने बताइएको छ।
भुक्तानी गर्दा कारोबार सीमा भने छनोट गरिएको प्रणाली अनुसार हुने एनसीएचएलले जनाएको छ। भन्सार एजेन्ट तथा आयातकर्ताले सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आइपीएस, कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाको शाखाबाट भुक्तानी गर्न सक्ने बताइएको छ।
एनसीएचएलका विभिन्न सदस्य बैंक तथा वित्तीय संस्थाका मोबाइल/इन्टरनेट बैंकिङ तथा सदस्य भुक्तानी सेवा प्रदायक (वालेट) हरुमा पनि चाँडै उपलब्ध हुने एनसीएचएलले जनाएको छ।
देशभरका भन्सार नाकाहरुबाट आयात कर, भ्याट, अन्तः शुल्कलगायतका विभिन्न करहरु संकलन हुने कुल राजस्वको ४४% ओगटेको छ। सरकारी करको हकमा यसको योगदान ५०% रहेको एनसीएचएलले जनाएको छ।
विभागमा विद्युतीय भुक्तानी सुरु भएसँगै सेवा प्रवाहमा उल्लेख्य सुधार भएसँगै ‘क्यास लेस र फेस लेस’ सेवा दिने नीतिलाई सहयोग गर्ने अपेक्षा गरिएको विभागले जनाएको छ।
आर्थिक वर्ष २०७८/७९ माघ मसान्तसम्म विद्युतीय माध्यमबाट १३.२ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। यसमा विभागले एक महिनामै ५६% योगदान गरेको एनसीएचएलले जनाएको छ।
सरकारले गत आव. २०७७/७८ मा कुल राजस्व संकलनमध्ये १०% अनलाइन माध्यबाट संकलन गरेको थियो। आगामी दिनमा विद्युतीय माध्यमबाट हुने राजस्व संकलन २–३ गुणाले वृद्धि हुने अपेक्षा गरिएको छ।