काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्ब ५५ करोड रुपैयाँले घटाएको छ । विहीबार अर्थमन्त्री जनार्दन शर्माले अर्धवाषिर्क समीक्षामार्फत चालु आर्थिक वर्ष २०७८/७९को बजेटको आकार घटाइएको जानकारी दिएका हुन् ।
चालु बर्षको बजेट संबैधानिक प्रावधान अनुसार जेठ १५ मा तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले ल्याएका थिए। उनको भन्दा १५ अर्ब घटाएर शर्माले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएका थिए।
चालू वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुनेछ । यसमा स्थानीय तहको निर्वाचन, कोरोना खोप खरिद लगाएतका हुने खर्च समावेश गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारले सुरुको विनियोजनबाट खर्च नहुने अनुमान गरिएको रकम घटाउन बजेट संशोधन गरेको हो । अब चालूतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड खर्च गर्ने सरकारी लक्ष्य छ । त्यसैगरी पूँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ ।
अर्थमन्त्री शर्माले मुलुकका आर्थिक बृद्धिदरमा पनि सकारात्मक असर पर्ने र मुद्रास्थिति नियन्त्रणमा रहेको बताए । त्यस्तै उनले ९५.५ प्रतिशतले निर्यात बढेको र आयात ५१.१ प्रतिशतले बढेको जानकारी दिए ।
बिपे्रषण आप्रवाह नेपाली मुद्रामा ५ दशमल ५ प्रतिशतले कमी आएको र सोधान्तर घाटा २ खर्व ४१ अर्व २३ करोड रहेको मन्त्री शर्माले बताए । मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको जानकारी दिए । अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन भइरहेको उनले बताए ।
अर्थमन्त्री शर्माले स्रोत सुनिश्चितता नहुँदा बजेटको आकार घटाउनु परेको तर्क गरे । त्यस्तै उनले हचुवाका भरमा आयोजनाहरुको छनौट गर्दा पनि पूँजिगत खर्चको समस्या भएको जिकिर गरे । मनत्री शर्माले वैदेशिक मुद्राको सञ्चितिमा परेको चाप कम गर्न विभिन्न नीतिगत उपाय अबलम्बन गरिएको पनि बताए ।