काठमाडौं । उच्च आयातसँगै बढेको ब्यापार घाटाका कारण मुलुक बाह्य क्षेत्र झनझन् संकटोन्मुख हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको विवरण सार्वजनिक गर्दै विदेशी मुद्रको सञ्चिति एक महिनामै ४८ अर्ब २३ करोड रुपैयाँले घटेर ११ खर्ब ६५ अर्ब ८० करोडमा आएको जनाएको छ। यो भनेको कोभिडअघिकै अवस्था हो। २०७६ चैतमा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ थियो।
शोधनान्तर घाटामा पनि चुलिएको छ। महिना दिनमै घाटा ४६ अर्ब २२ करोडले बढेर २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँ नाघेको छ। चालु खाता घाटा महिना दिनमै ५३ अर्ब ३८ करोड रुपैयाँले बढेको छ। चालु खाता घाटा ३ खर्ब ५४ अर्ब ७ करोड पुगेको छ। यो भनेको अर्थतन्त्रको आकारको ९ प्रतिशत हाराहारी हो। ८ प्रतिशतमाथि पुग्नु संकट हो।
यता मासिक रेमिटेन्समा सुधार देखिएको छ। मंसिरमा ७६ अर्ब १६ करोड भित्रिएकोमा पुसमा ७९ अर्ब ८७ करोड रुपैयाँ भित्रिएको छ। यो पोहोरको पुसको तुलनामा भने कम हो। पोहोर पुसमा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ भित्रिएकोमा यसपाली ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँमा सीमित भएको छ।
मूल्यवृद्धिले आकास छोयो
आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा ५.६५ प्रतिशतले मूल्यवृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही महिनामा ३.५६ मा रहेको मुद्रास्फीति ६ महिनामा बढेर ५.६५ प्रतिशत पुगेको हो ।
गत आ.व.को तुलानामा २.०९ प्रतिशतले मूल्य वृद्धि भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । जारी तथ्यांकमा उपभोक्ता मुद्रास्फीतितर्फ सबैभन्दा धेरै घ्यू तथा तेलमा रहेको छ । त्यसपछि क्रमशः यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहमा मूल्यवृद्धि भएको छ ।
घ्यू तथा खाने तेलमा २१. २२ प्रतिशतले मूल्यवृद्धि गरेको छ भने याता । यातायातमा १४.०७ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ११.३७ प्रतिशत, सुर्तीजन्य वस्तुमा १०.४८ र दाल तथा गेडागुडी उपसमूहतर्फ ९.२२ प्रतिशतले मूल्यवृद्धि गरिएको छ । थोक मुद्रास्फीतितर्फ ८.०८ प्रतिशतले मूल्यवृद्धि भएको छ । अघिल्लो वर्ष सोही महिनामा मुद्रस्फीति दर ६.१८ रहेको थियो ।