
काठमाडौं । आकर्षक तलब र सुविधासहित वैदेशिक रोजगारीको झुटो प्रलोभन दिएर भिजिट भिसामा यूएईलगायत खाडीका विभिन्न देशमा पुर्याएर अलपत्र पार्ने कार्य अहिले बढेको छ ।
स्रोतका अनुसार भिजिट भिसाको सेटिङमा वार्षिक १ अर्ब २० करोड रुपैयाँ घुस बापत कारोवार हुने आँकलन गरिएको छ । गत एक वर्षमा अनुमानित ८० हजार नेपालीहरु भिजिट भिसामा यूएई गएको स्रोतले जनाएको छ ।
त्यसमा बढीमा २० हजार आफन्त र ट्राभल्समार्फत वास्तविक पर्यटक रहेको र बाँकीका ६० हजार नेपाली सेटिङ मिलाएर रोजगारीको उद्देश्यले गएको स्रोतले उल्लेख गरेका छन् ।
एक जना बराबर २० हजार रूपैयाँ एयरपोर्ट अध्यागमन कर्मचारीलाई घुस दिनुपर्ने छ । साथै त्यसवापत एक वर्षमा १ अर्ब २० करोड रुपैयाँ कारोवार हुने र यति ठूलो रकमको घुस कारोवार राजनैतिक संरक्षण बिना कर्मचारीको मिलेमतोमा मात्र सम्भव नहुँने बताइएको छ ।
अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसा
अध्यागमन विभागकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश जानेहरूको सङ्ख्या बढेको आरोप लाग्दै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोबाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ ।
अध्यागमन सेवा प्रदान गर्ने क्रममा डेस्क ड्युटी आवरको बेला मोबाइल चलाउन मात्र नभई साथमा नराख्न निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए ।
आवश्यक परेमा ल्यान्डलाइन र अफिसियल फोन प्रयोग गर्न सकिने जारी सूचनामा उल्लेख छ । वरिष्ठ अध्यागमन अधिकृत तथा डेस्क अफिसरलाई व्यक्तिगत मोबाइल प्रयोग भएरनभएको नियमन तथा नियन्त्रणको जिम्मेवारी दिएको छ ।
यसरी गएकाहरू अलपत्र पर्ने र दुःख पाउन थालेपछि विभागले सो निर्णय गरेको बताइन्छ विशेष गरी खाडी र युरोपलगायतका मुलुकहरूमा भिजिट भिसामा गएका नेपाली नागरिकले दुःख पाउन थालेपछि यस समस्याको समाधान र उपायका सम्बन्धमा अध्ययन गर्न सरकारले समिति नै गठन गरेको छ ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलको नेतृत्वमा गठित समितिले आवश्यक अध्ययनपछि बुझाउने प्रतिवेदनका आधारमा भिजिट भिसामा कस्तो व्यक्तिलाई विदेश जान दिने र नदिने निर्क्योल हुने अपेक्षा गरिएको छ ।