काठमाण्डाै । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा स्वेदेशी र विदेशी गरी एक सय ५४ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार गएकाे आर्थिक वर्षको ६ महिनामा एक सय तीन वटा उद्योग दर्ता भएकोमा यो वर्ष साउनदेखि पुससम्म ५१ वटाले बढेर एक सय ५४ वटा पुगेका छन् । जसमध्ये ४५ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग रहेका छन् ।
यी उद्योगमा एक खर्ब ८६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । यसमध्ये ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव हो भने बाँकी स्वदेशी रहेको छ । गएकाे आर्थिक वर्षको पहिलो ६ महिनामा जम्मा ७२ अर्ब ६२ करोड रुपैयाँ प्रस्तावित लगानीका उद्योग दर्ता भएका थिए ।
साउनदेखि मङ्सिरसम्म दर्ता भएका एक सय ५४ वटा उद्योगले १३ हजार सात सय ४८ जनालाई रोजगारी दिने बताएका छन् । नेपालमा अहिलेसम्म उद्योगमा २४ खर्ब ७० अर्ब रुपैयाँ लगानीका उद्योग दर्ता भएका र यी उद्योगबाट ६ लाख ४२ हजार पाँच सय ४३ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।
सरकारले पन्ध्र करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई साना उद्योग, १५ देखि ५० करोड रुपैयाँसम्म पुँजी भएकालाई मझौला र ५० करोड रुपैयाँभन्दा धेरै लगानी भएका उद्योगलाई ठूला उद्योग भनेर परिभाषित गरेको छ ।